साउदी । साउदी अरबमा आकस्मिक सुरक्षा जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले त्यहाँ कार्यरत तथा बसोबास गरिरहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महावाणिज्यदूतावासले साउदी अरबको आधिकारिक सुरक्षा निकाय (General Directorate of Civil Defense) तथा राष्ट्रिय प्रारम्भिक चेतावनी प्रणाली (National Early Warning Platform for Emergencies) मार्फत जेद्दा, मक्का, ताइफ, मदिना, आभा र यान्बु लगायतका क्षेत्रमा मोबाइल सन्देश तथा सामाजिक सञ्जालमार्फत सुरक्षा सतर्कतासम्बन्धी पूर्वचेतावनी जारी भइरहेको जनाएको छ।
आकस्मिक अवस्थालाई ध्यानमा राख्दै स्थानीय सुरक्षा निकायले जारी गरेका सुरक्षा मापदण्ड तथा निर्देशन पालना गर्न महावाणिज्यदूतावासले नेपाली नागरिकलाई अनुरोध गरेको छ।
महावाणिज्यदूतावासका अनुसार चेतावनी जारी भएमा तत्काल नजिकैको पक्की घर वा भवनभित्र जानुपर्छ। भवनभित्र पनि झ्याल तथा सिसा नभएको भित्री कोठामा बस्न र जोखिम पूर्ण रूपमा नहटेसम्म बाहिर ननिस्कन आग्रह गरिएको छ।
त्यस्तै, खुला ठाउँ, झ्याल, सिसा, बाल्कोनी तथा भवनको छतमा नजान र त्यहाँ नउभिन पनि अनुरोध गरिएको छ। बाहिर वा बाटोमा रहेका नेपालीले चेतावनी प्राप्त गरेमा नजिकैको सुरक्षित भवनभित्र प्रवेश गर्न वा बलिया संरचनाको आड लिएर सुरक्षित रहनुपर्ने सूचनामा उल्लेख छ।
सवारीसाधन चलाइरहेका बेला चेतावनी प्राप्त भएमा पुल तथा अग्ला भवनबाट टाढा सुरक्षित स्थानमा गाडी पार्क गरी सुरक्षित आश्रय लिन पनि महावाणिज्यदूतावासले आग्रह गरेको छ।
महावाणिज्यदूतावासले साउदी अरबमा कार्यरत तथा बसोबास गरिरहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आधिकारिक सूचनामा ध्यान दिन, स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गरेको छ।





