काठमाडौं २१, साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।
नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याटर ज्ञानेन्द्रले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा संन्यास लिने घोषणा गरेका हुन्।
२०७६ को कात्तिकमा उनी राष्ट्रिय टिमको कप्तान बनेका थिए।
१० वर्ष कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान नियुक्त गरेको थियो। उनी पारस कप्तान रहँदा नेपाली टिमको उपकप्तानको भूमिकामा थिए।
तर उनलाई क्यानले २०७८ मंसिर २९ मा कप्तानबाट हटायो।
खेलाडी वर्गीकरणमा भएको त्रुटिको विषयमा आफ्नो असन्तुष्टि सेतोपाटीमा व्यक्त गरेका ज्ञानेन्द्रलाई अन्यायपूर्ण रूपमा कप्तानबाट हटाइएको थियो। ज्ञानेन्द्रलाई कप्तानबाट हटाएपछि क्यानले सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाउने निर्णय गरेको थियो।
कप्तानबाट हटेपछि उनले २ वर्ष राष्ट्रिय टिमबाट खेले। पछिल्लो पटक उनले आइसिसी एकदिवसीय छनोटमा आयरल्यान्डविरूद्ध खेलेका थिए। जिम्बावेको हरारेमा भएको खेलमा उनी ७ रनमा आउट भएका थिए।
ज्ञानेन्द्र सन् २००५ मा नेपालको यू-१५ टिममा परेका थिए। त्यही वर्ष उनी नेपालको यू-१७ र यू-१९ टिममा मात्र परेनन् सिनियर टिममा समेत पर्न सफल भएका थिए।
उनले एकै वर्ष नेपालको तीन वटा उमेर समूह (यू-१५, यू-१७ र यू-१९) सहित राष्ट्रिय टिममा परेर कीर्तिमान बनाएका थिए। सिनियर राष्ट्रिय टिममा डेब्यू भने उनले सन् २००६ मा नामिबियामा गरे।
उनले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८७६ रन बनाएका छन्। यस्तै ४५ टि-२० खेलमा उनले ८८३ जोड्दा एक शतक र दुई अर्धशतक प्रहार गरेका छन्।























































