झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको केन्द्रीय नेतासहितको टोलीले झापाका विभिन्न स्थानको कार्यक्रमको तयारी तीब्र पारिएको छ । जिल्लाका विभिन्न स्थानमा कार्यक्रममा सहभागी हुन सभापति लामिछानेसहितको टोली झापा आउने भएको धुलाबारीमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिइएको हो । नेता लामिछाने नेतृत्वको टोली भदौ १ र २ गते झापामा सक्रिय भएर खटिने भएको छ । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्र र प्रायः सबै प्रदेश क्षेत्रमा रास्वपाले दुई दिने कार्यक्रम तय गरेको छ ।
सभापति लामिछानेको नेतृत्वमा महामन्त्री डा. मुकुल ढकाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक तथा संघीय सांसद निशा डाँगी, केन्द्रीय सदस्य तथा सांसद अशोक चौधरी, केन्द्रीय सदस्य रमेश प्रसाईं लगायतका केन्द्रीय नेताहरु जिल्लाको विभिन्न स्थानमा जाने कार्यक्रम रहेको जिल्ला सभापति उमेश खरेलले बताए ।
उनले दुई दिनमा करिब ८ वटा कार्यक्रममा सहभागी हुने तय भएको जानकारी दिए । ‘सभापति दुई दिनसम्म बिहानदेखि बेलुकासम्म नै खटिनु हुनेछ,’ उनले भने, ‘माईपूर्व र माईपश्चिम गरी दुईवटा खुल्ला सभासँगै कचनकवलको बनियानी, झापा बजार, बाहुनडाँगी, बुद्धशान्ति, हल्दिबारीको गोलधाप, शिवगञ्ज जस्ता ग्रामीण ठाउँमा पनि जाने कार्यक्रम रहेको छ ।’
साउन ३२ गते इलामको सूर्योदय नगरपालिकाको खुल्ला सभालाई सम्बोधन गरिसकेपछि लामिछाने झापा आउने छन् । त्यसको भोलिपल्ट भदौ १ गते बिहान बुद्धशान्तिको- ४ मा रहेको सुकुम्बासी बस्ती जाने, त्यसपछि बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ । सोही दिन खुल्ला सभा बिर्तामोडको सिटी सेन्टर र दमकको गोर्खा डिपार्टमेन्टको अगाडि राखिएको छ । सोही दिन झापाका उद्योगी, व्यवसायी, बौद्धिक तथा शैक्षिक व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।






















































