विर्तामोड, १ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले भ्रष्टाचारका सबै फाइल खोल्ने हो भने पुराना दलका अधिकांश नेताहरुलाई जेल बाहिर नभेटिने दावी बताएका छन् ।
विर्तामोडको सीटी सेन्टरमा शुक्रबार दिउँसो पार्टीले आयोजना गरेको जनसभामा उनले भ्रष्टाचारले देश जर्जर भएको जनाउँदै अध्यक्ष लामिछानेले त्यस्तो बताएका हुन् ।
‘तीन वटा फाइल खुल्दा त यो हालत छ,’ रास्वपा अध्यक्ष एवम् सांसद् लामिछानेले भने–‘भ्रष्टाचारका सबै फाइल खुल्ने हो भने केही शीर्ष नेता नेताहरु मात्र जेल बाहिर हुनेछन् ।’
राजनीतिक दलहरु भ्रष्टाचारमा लिप्त भएको पुष्टि भएको आरोप लगाउँदै आगामी ०८४ को आम चुनावमा रास्वपाका उम्मेद्वारहरुलाई जिताएर जनताले पुराना दललाई घण्टी बजाइँदिने जिकिर गरे ।
नेतालाई सम्पत्ति जोड्न र सुविधासम्पन्न मात्र बनाउन अहिलेसम्म राजनीति वरिपरि घुमिरहेको छ, उनले भने,` यहीँ गतिमा पुराना दलहरु सुद्रिदैनन् ।´
रास्वपाका अध्यक्ष लामिछाने संगठन विस्तार अभियान लिएर महामन्त्री मुकुल ढकाल, सांसद् सन्तोष परियार, सांसद् निशा डाँगी लगायतका नेताहरुसहित विहीबार काठमाडौंबाट झापा आएका थिए । विहीबारै उनले इलामको फिक्कलमा एउटा जनसभामा भाषण गरेका थिए । शनिबारसम्म झापाका धेरै स्थानमा आयोजना गरेको सभामा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको पार्टीका झापा अध्यक्ष उमेश खरेलले जानकारी दिए ।






















































