विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापा विश्वासको मत पाइने बिषयमा ढुक्क छन् ।

आगामी भदौ ४ गते सोमबार दिनको १ बजे विश्वासको मत लिन मुख्यमन्त्री थापाले निकै ठुलो कसरत गरेपछि आफुले विश्वासको मत पाइने बिषयमा ढुक्क भएका हुन् ।

कोशी प्रदेश सभामा ९३ सदस्यीयमध्ये नेपाली कांग्रेससहितको गठबन्धनसँग बहुमतको ४७ मत छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको गठबन्धनमा ४६ मत छ । 

मुख्यमन्त्री थापाले बहुमत नपुग्ला कि भन्ने त्रासका कारण सभामुख रहेका माओबादीका बाबुराम गौतम र ज्येष्ठ सांसद् कांग्रेसका गयानन्द मण्डललाई पहिल्यै मन्त्री नियुक्त गरिसकेका छन् । गौतम र मण्डललाई आफ्नो पकडभित्र राखेपछि मुख्यमन्त्री थापा विश्वासको मत नगुम्नेमा निश्चित छन् ।

अझ प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई भदौ ४ गते  दिनको १ बजे  प्रदेशसभाबाट विश्वासको मत लिन समय दिएको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

विपक्षी एमालेले उपसभामुख पदबाट सिर्जना दनुवारलाई राजीनामा गराए ज्येष्ठ सांसद्को नाताले कांग्रेसका मण्डलले सभाको अध्यक्षता गर्नुपर्ने बाध्यता हुन्थ्यो । तर, भावी संकटमोचनका लागि मुख्यमन्त्री थापाले जेष्ठ नागरिक मण्डललाई मन्त्री नियुक्त गरेर  अग्रिम सचेतना अपनाइसकेपछि विश्वासको मत पाउनेमा बिश्वास्त भएका हुन् ।

अहिलेको समीकरण र परिस्थितिमा कुनै बदलाव नआएमा भदौ ४ गते सभामा थापाले ४७ मत पाउने पक्कापक्की छ । नेकपा एमाले संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले उपसभामुख सिर्जना दनुवारलाई पदबाट राजीनामा नगराउने पटकपटक बताउँदै आएका छन् ।