झापा । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले काङ्ग्रेसभित्रको समस्या समाधान गर्नसक्ने नेतृत्व आवश्यक भएको बताएका छन् । 

नेविसङ्घ इन्द्रचन्द्र र कनकाई क्याम्प बिर्तामोड एकाइ समितिले विर्तामोडमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काङ्ग्रेसका महामन्त्री थापाले काङ्ग्रेस बदलेरै छाड्ने उदघोष गरे ।

विद्यार्थीको बाक्लो उपस्थितिबाट निकै उत्साहित देखिएका थापाले पार्टीभित्र देखिएका समस्यालाई सामाधान गर्नसक्ने आइडिया नभएको नेतृत्वको अब पार्टीमा काम नभएको टिप्पणी गरे । 

‘पार्टीमा निन्दा गर्ने होइन, क्रिटिकल व्यक्ति चाहिएको छ,’ महामन्त्री थापाले भने, ‘पार्टीमा आत्मविश्वास योजना र प्रतिबद्धता भएको नेतृत्व चाहिएको हो उनले भने।’

राम्रो काम गर्ने कार्यकर्ता र नेताले कोहीसँग डराउनु नपर्ने दोहोर्याउँदै उनले घरपरिवारको चिन्ता गर्न कोही पनि काङ्ग्रेस नभएको बताए ।

‘म घरपरिवारको चिन्ता गर्न काङ्ग्रेस भएको होइन, तपाईं पनि होइन,’ उनले भने, ‘देश बदल्न काङ्ग्रेस भएको हो, काङ्ग्रेसले देश बदल्ने तागत राख्छ ।’

उनले आफूहरूलाई विश्वास गर्न कार्यकर्ता पंक्तिलाई आग्रह गर्दै भने, ‘पार्टी र भातृ सङ्गठनमा केही समस्या छ, हामी त्यो अवश्य हल गर्छौँ ।’

आफूहरूले व्यक्तिको नभई नेपालको परिचय बदल्न सङ्घर्ष गरिरहेको उनको तर्क छ । नेपाल बनाउन सकिन्छ भन्ने दृढ मान्यताका साथ आफूहरूले काम गरिरहेको थापाले बताए ।

मञ्चमा बस्ने नेतृत्वसँग तल बस्दा नडराउने कार्यकर्ता पंक्ति निर्माण आफ्नो ध्येय भएकोमा उनले जोड दिए । कार्यकर्तालाई सानो ठान्ने सोच त्याग्न उनले नेतृत्वलाई सुझाए ।

नयाँ पुस्तालाई पार्टी र भ्रातृ सङ्गठनमा ठाउँ नदिए काङ्ग्रेस रुपान्तरण हुन नसक्ने उनको ठम्याइ छ । महामन्त्री थापाले पञ्चायतभन्दा पपुलिजम खतरा भएको औँल्याए ।

कन्काई क्याम्पका एकाइ सभापति किरण गुरुङको अध्यक्षता नेविसङ्घ झापा सचिव गोकुल पौडेल र इन्द्रचन्द्र क्याम्प एकाइ सचिव ग्रिष्मा सापकोटाले संयुक्तरूपमा चलाएको कार्यक्रममा नेविसङ्घ झापा सभापति सञ्जय निरौलाले स्वागत गरेका थिए ।

हिजो इलामको कार्यक्रममा सहभागी हुन अस्ति झापा आएका थापाले झापा काङ्ग्रेस र भ्रातृ सङ्गठनको नेतृत्वसँग आन्तरिक छलफल गरेका छन् ।

महामन्त्री थापाले अहिले केहीबेरमा नेपाली काङ्ग्रेस शिवसताक्षी नगर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको शिवसताक्षी काङ्ग्रेस नगर सभापति अशोक बस्नेतले बताए ।