काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारहरु अत्तालिएको बताएका छन्।
शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा श्रेष्ठले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताए।
‘प्रचण्ड नेतृत्वको सरकारले चलाएको अभियानबाट तस्करहरू, ठगहरू भ्रष्टाचारीहरू आत्तिएका छन्। तर, अधिकांश आम जनताहरू यो अभियानबाट खुसी भएका छन्। लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचार बिरोधी अभियानबाट आम जनतामा आशा पलाएको छ’, श्रेष्ठले भने ।
‘भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि बढाउँछौँ। सरकार र गृहमन्त्रालयको नेतृत्वको निरन्तरता भनेकै तस्कर भ्रष्टाचारी र ठगविरुद्धको अभियान हो,’ उनले भने, ‘यो अभियानमा आम जनताको साथ र सहयोगको अपेक्षा छ।’
नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सामान्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई अन्त्य गर्ने सरकारको कदम सुशासन र भ्रष्टाचारविरोधी कदमकै निरन्तरता रहेको श्रेष्ठको भनाइ छ। उनले सरकारले जनताको पक्षमा निरन्तर काम गरिरहने पनि बताए।
कार्यक्रममा सानुराज बज्राचार्य, संकरलाल वैद्य, रोशन महर्जन, सुनिल देउला, रामकृष्ण महर्जन, हरिकृष्ण महर्जन, रत्न महर्जनलगायत १५० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठले पार्टी प्रवेश गर्नेहरू सबैलाई आत्मसम्मानमा ठेस नपुग्ने गरी जिम्मेवारी दिइने प्रस्ट पारे।






















































