बिर्तामोड । पूर्वबाणिज्य तथा आपूर्ति मन्त्री तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शिवकुमार मण्डलले परिवर्तन माओवादीले ल्याएको भनेर बुझाउन नसक्नु नै पार्टीको कमजोरी भएको बताएका छन् ।

माओवादीले आदिवासी, जनजाती, मधेशी, मुस्लिम, दलित, शोषित, पीडित र गरीबका समस्याका लागि नै जनयुद्ध गरेको बताउँदै उनीहरुमा आएको परिवर्तन माओवादीकै देन हो भनेर बुझाउन नसक्नु नै त्रृटि भएको बताएका हुन् ।
माओवादी केन्द्रले ल्याएको ‘जनतासँग माओवादी बिशेष रुपान्तरण’ अभियान अन्तरगत सवैको घर-घरमा गएर परिवर्तनको बिषयमा बुझाउँदै उनीहरुको मन जित्नु पर्ने उनको भनाई थियो ।
नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीको सोमबार बिर्तामोड भएको आठौ विस्तारित बैठक तथा पार्टीको अभियानको तयारीका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता मण्डलले ‘जन जनमा माओवादी घर-घरमा माओवादी’ अभियानलाई सफल बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।
अभियानका बिर्तामोड कमाण्डका प्रमुखसमेत रहेका नेता मण्डलले पार्टीको केन्द्रीय अभियान अन्तरगत ‘जनतासँग माओवादी बिशेष रुपान्तरण’ सफल बनाउन सबैलाई निर्देशनसमेत दिएका छन् ।
पार्टीका बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्वाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य कल्पना कार्की (भुमिका), बुद्धिजिवी संगठनका प्रदेश सदस्य देशु बनेम, प्रदेश सदस्य तथा रिर्टनी सेन्टर नेपालका महासचिव भीम लकान्द्री, अभियानका बिर्तामोड–५ कमाण्ड प्रमुख अर्जुन पाण्डेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत पार्टीका बिर्तामोड नगर उपाध्यक्ष कमलप्रसाद कडरियाले गरेको कार्यक्रमको सञ्चालन सचिव गणेश कालिकोटेले गरेका थिए । कार्यक्रममा प्रदेश कमिटी सदस्य देबकला प्रसाई, झापा सह–इन्चार्ज रोशन कन्दङ्वा, बिर्तामोड–३ वडा इन्चार्ज जगनाथ भट्टराईलगायत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।






















































