झापा । नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान शनिबार भाद्र १६ गतेदेखि शुरु गर्ने भएको छ।
माओवादीले गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुरूपको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशभरका सबै वडामा शनिवार एकैसाथ शुरु गर्ने भएको हो। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिबार बिहान ९ बजे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने जानकारी दिए।
त्यसैगरी शनिबार नै दिउँसो १ बजे सबै वडाहरूले कार्यक्रम राखी अभियानको प्रारम्भ गर्ने बताए। अभियानको लागि माओवादी केन्द्रले सबै केन्द्रीय कमिटी सदस्यहरूलाई कार्यक्षेत्र तोकिसकेको छ। अभियानको शुभारम्भ गर्न पार्टीका पदाधिकारीहरू खटिइसकेका उनले बताए। जस अनुसार अध्यक्ष पुष्पकमल दाहालले चन्द्रागिरि नगरपालिका वडा नं. २ काठमाडौं घट्टेडाँडाँ पार्कको कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। त्यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धि ललितपुरमा जानेछन्।
उपाध्यक्षहरूमा कृष्णबहादुर महरा सुनछहारी गाउँपालिका जेलवाङ रोल्पा, अग्निप्रसाद सापकोटा लिसंखुपाखर-३ सिन्धुपाल्चोक र पम्फा भुसालले ललितपुर महानगरपालिका २२ ललितपुरको जिम्मेवारी लिनुभएको प्रवक्ता सापकोटाले जानकारी दिए।
महासचिव देवप्रसाद गुरुङले सुन्दर बजार नगरपालिका-८ भोटे ओडार लमजुङको जिम्मेवारी लिएका छन् भने उपमहासचिवहरू गिरिराजमणि पोखरेलले गोकर्णेश्वर नगरपालिका-४ काठमाडौं, वर्षमान पुन काठमाडौँ महानगरपालिका-१६ गंगबु काठमाडौँ, हरिबोल गजुरेलले कमलामाई नगरपालिका सिन्धुली, जर्नादन शर्माले चन्द्रागिरि नगरपालिका-२ काठमाडौं, शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका=१ जाजरकोट र मात्रिकाप्रसाद यादवले वीरेन्द्रनगर नगरपालिका-१ सुर्खेतको जिम्मेवारी लिएका छन्।
त्यसैगरी सचिवहरूमा दिनानाथ शर्मालाई वागलुङ नगरपालिका-१२ वागलुङ, चक्रपाणि खनाललाई विराटनगर नगरपालिका-१८ मोरङ, देवेन्द्र पौडेललाई पोखरा महानगरपालिका-२० कास्की, लिलामणि पोखरेललाई बर्दिबास नगरपालिका महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका-१० बानेश्वर काठमाडौं, हितमान शाक्यलाई सिस्ने गाउँपालिका-६ रुकुमपूर्ण, हितराज पाण्डेलाई पालुङटार नगरपालिका-६ गोरखा, डिलाराम आचार्यलाई धनगढी उपमहानगरपालिका-१६ कैलाली, सुरेन्द्रकुमार कार्कीलाई बुद्धशान्ति गाउँपालिका-४ झापाको जिम्मेवारी तोकिएको छ भने कोषाध्यक्ष श्रीराम ढकाललाई चन्द्रागिरि नगरपालिका-२ काठमाडौँको जिम्मेवारी दिइएको छ।
माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको नारा ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ। अभियानको क्रममा त्यस्तै नवीकरण र बिस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने लक्ष्य राखिएको जनाइएको छ। अभियानको क्रममा कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी गराउने बताइएको छ।
झापामा सम्पूर्ण तयारी पूरा:
नेकपा माओवादी केन्द्रका पदाधिकारी तथा सदस्यहरु भदौ १६ गते शनिबारदेखि जनताको घरघरमा जाने तयारी गरेका छन् । ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ अन्तर्गत उनीहरु आम नेपालीको समस्या र सुझाव संकलनका लागि घरघरमा जान लागेका हुन् ।

२०६४ मा लोकप्रिय मत पाएपनि पछिल्लो निर्वाचनमा मतपरिणाम खस्कँदै गएपछि नेकपा माओवादी केन्द्र फेरी जनताको घरदैलोमा जान लागेको हो । मुलुक नेकपा माओवादी केन्द्रकै एजेण्डामा अगाडी बढेपनि जनतालाई बुझाउन नसक्दा पछिल्लो मत परिणाम खस्किएको पार्टीले महशुस गरी तीन महिने विशेष रुपान्तरण अभियान अगाडी बढाउन लागेको हो ।
पार्टी तथा जनवर्गीय संगठनका केन्द्रदेखि गाउँ तहसम्मका नेताहरु यति बेला गाउँ गाउँ पुगेका छन् । भदौ १६ गते अभियान उद्घाटन भएपछि उनीहरु तीन महिना जनताको घर घरमा गएर सुझाव संकलन गर्नुका साथै उनीहरुको कुरा सुन्नेछन् । पार्टी संगठनलाई सुदृढीकरण गर्नुका साथै सदस्य संख्या बढाउने र पुनः माओवादीलाई २०६४ कै तहमा फर्काउन अभियान चलाउन लागिएको नेताहरु बताउँछन् ।
पार्टी तलबाट संस्थागत हुन लागेको केन्द्रीय सदस्य तथा अभियानका भद्रपुर कचनकवल इञ्चार्ज साबित्रीकुमार काफ्ले (समर)ले बताए । क्रान्तिकारी आन्दोलनको बिरासत बोकेको झापा जिल्ला उल्टो दिशातर्फ बगिरहेकाले अब माओवादी केन्द्रले अगुवाई गरेर पुनः पुरानै अवस्थामा फर्काउने बताए । एक्सन ओरिएण्टेड काम गर्ने, युवाहरुलाई गोलबद्ध गर्ने र माओवादीमय झापा बनाउने कार्यको जग हाल्ने काम यो अभियानमा गरिने उनले बताए ।
अर्का केन्द्रीय सदस्य पार्टीका कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका इन्द्र आङ्बो (मौसम)ले यो अभियान जनतापटी फर्कने अभियान रहेको बताए । नेता आङ्बोले अभियानको क्रममा जनताको कुरा सुन्ने र जागरण पैदा गराउने बताए । उनले नेताहरु मनैदेखि जनतमाझ गएको दाबी गरे ।
अभियानको झापामा तयारी पूरा:
झापामा जनतासँग माओवादी, विशेष रुपान्तरण अभियानको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । शुक्रबार पार्टीको जिल्ला समन्वय समितिको सभाहलमा झापामा खटिएका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सहइञ्चार्ज, जिल्ला पदाधिकारीहरु र प्रेस सेन्टरका पदाधिकारी तथा सदस्यहरुको अन्तरक्रियामा अभियानको सम्पूर्ण तयारी पूरा भएको नेताहरुले बताएका हुन् ।
अभियानका लागि मेचीनगर र बुद्धशान्तिमा कोशी प्रदेश सांसद समेत रहेका पार्टीका केन्द्रीय सदस्य गोम्बु शेर्पा (कर्ज्याङ), अर्जुनधारा र बिर्तामोडमा केन्द्रीय सदस्य शिवकुमार मण्डल, भद्रपुर र कचनकवलमा केन्द्रीय सदस्य साबित्रीकुमार काफ्ले (समर), बाह्रदशीमा प्रदेश कमिटीका सहसचिव रचना राई, हल्दीबारीमा केन्द्रीय सदस्य ममता ताजपुरिया राजवंशी, कनकाई र झापा गाउँपालिकामा केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद राजेन्द्र कुमार कार्की (नबिन), शिवसताक्षी र गौरीगञ्जमा केन्द्रीय सदस्य मोहन खड्का (हिमशिखर), कमल र गौरादहमा पार्टीका प्रदेश सचिव तथा प्रदेश सांसद गणेश उप्रेती (शुसिल) र दमकमा केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेतासमेत रहेका इन्द्र आङ्बो (मौसम) को जिम्मेवारी रहेको जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य (अग्नी)ले जानकारी दिए ।
झापाका एक सय एकतीस वटै वडामा भोली (शनिबार) एकैसाथ अभियानको उद्घाटन हुने आचार्यले जानकारी दिए । आचार्यका अनुसार अभियानको क्रममा जनयुद्धको समयमा पार्टीलाई सेल्टर दिने, द्वन्द पिडित, अपाङ्ग, घाइते, शहिद परिवार, बेपत्ता परिवार, जनसेनामा भर्तीहुनेलाई पार्टीको तर्फबाट धन्यवादसहित योगदानका आधारमा कदर पत्र प्रदान गरिनेछ ।
पत्रकार दिपेनलाई स्वागत
झापा । झापाका अग्रज पत्रकार दिपेन राई ( दिपेन्द्र) प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् ।
लामो समयदेखि झापाली पत्रकारितामा रहेका राई हाल यलम्बर टाईम्सका सम्पादक प्रकाशक रहेका छन् भने उनी झापामा तीन दशकदेखि सक्रिय पत्रकारितामा रहेका छन् ।
दिपेन राईलाई माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पुर्वप्रदेशका अर्थमन्त्री इन्द्र आङ्बो मौसम, पुर्वमन्त्री शिवकुमार मण्डल केवट, पार्टीका केन्द्रीय नेता सावित्रीकुमार काफ्ले समर, पार्टीका केन्द्रीय सदस्य हरि राना, पार्टीका जिल्ला अध्यक्ष राजु आचार्य अग्नि, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापाली, प्रेस सेन्टरका प्रदेश सदस्य डिकेश लामा, जिल्ला अध्यक्ष राजु पाठक लगायातले राईलाई शुक्रबार विशेष कार्यक्रमबीचमा स्वागत गरेका थिए। राईलाई केन्द्रीय कमिटीमा विशेष जिम्मेबारीमा लैजानेसमेत तयारी गरिएको कार्यक्रममा जनाइएको छ ।






















































