मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा मौलाएको भ्रष्टाचार, बेथिति, विकृति र बेमललाई नियन्त्रण गरी सुशासन कायम गर्न स्थानीय पाँच राजनीति दलले नगरपालिकालाई सचेत गराएका छन् ।
शुक्रबार धुलाबारीमा पाँच वटा राजनीति दलले संयुक्त प्रेस विज्ञप्ति समेत जारी गर्दै भ्रष्टाचार, बेथिति र बिकृतिलाई नियन्त्रण गर्न आग्रह गरेका हुन्।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा माओबादी केन्द्रका क्षेत्रीय संयोजक माधव अर्याल, जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, नेकपा एकीकृत समाजबादीका क्षेत्रीय अध्यक्ष भाष्कर घिमिरे र राप्रपाका क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेलद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
`जनतालाई न्याय दिने निकाय मेचीनगरको कार्यालयभित्र चरम भ्रष्टचार, वेतिथि र लापरवाहीलाई अझैपनि बाहिर बसेर टुलुटुलु हेरिरहँदा सम्पूर्ण नगरवासीहरु प्रति अन्याय हुने ठहर गर्दै उत्तराधिकारवाला जनप्रतिनिधिमुलक संस्थाको गरीमालाई कायम राख्न सम्बन्धित पक्षलाई सचेत गराउँदछौ।"
दलहरूको ध्यानाकर्षण वा सचेतनालाई बेवास्ता गरे जनभावनाको प्रतिनिधित्व गर्दै आवश्यक पहल लिन वाध्य हुने सहभागी राजनीति दलका नेताले चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा नेकपा एमालेका क्षेत्रीय अध्यक्ष टिकाराम मग्रान्तिले पत्रकारहरूको प्रश्नको उत्तर दिदैं एमालेले नगरपालिकामा भइरहेको गतिविधिका बारेमा पार्टीको बैठक बसेर छुट्टै धारणा सार्वजनिक गर्ने जवाफ दिएका थिए । उनले राजनीतिक दलले जारी गरेको विज्ञप्तिका सहभागि नहुने उनको भनाई थियो ।






















































