हल्दिबारी । पटक-पटक अराजक गतिविधि गरेको भन्दै झापाको नेकपा एमालेको हल्दिबारी गाउँ कमिटीले पार्टी सदस्य नारायणप्रसाद लुइँटेललाई निलम्बन गरेको छ ।
एमाले सम्बद्ध राष्ट्रिय युवा संघ हल्दिबारी गाउँ कमिटीको भदौ २१ गते आयोजित शपथ ग्रहण कार्यक्रममा लुइँटेलको नेतृत्वमा आएको अराजक भीडले हुलहुज्जत गरी उनकै निर्देशनमा ब्यानर च्यात्ने, माइन्यूट च्यात्ने, फोहोरी शब्द बोल्नेलगायतका अमर्यादित कार्य गरेको गाउँ कमिटीले जनाएको छ ।
त्यस्तै अधिवेशनबाट नेतृत्व चयन गर्नका लागि गठित अध्यक्ष मण्डल तथा पार्टी गाउँ कमिटीको निर्णयविपरित क्रियाकलाप गरेका लुइँटेलले भदौ १८ गतेको गाउँ कमिटीको १० औं सचिवालय बैठकमा मर्यादाविपरित प्रवेश गरेर गालीगलौज र हातपात गरेको जनाइएको छ ।
हल्दिबारी गाउँ कमिटीको हिजो बसेको बैठकले पार्टी अनुशासनविपरित कार्य गर्ने लुइँटेललाई पार्टी सदस्यसमेत नरहने गरी दुई वर्षको लागि निलम्बन गरिएको अध्यक्ष त्रिलोचन सापकोटा र सचिव सागर पोर्तेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।






















































