IMG_20230916_171900झापा ३० भाद्र ।  प्रदेश नम्बर १ को नाम `कोसी´  खारेजीको माग राख्दै आन्दोलनरत पहिचानवादी राजनीतिक दलहरुले झापामा १ हजार ५ सय १ सदस्यीय युवा दस्ता गठन गरेका छन् । झापाको बिर्तामोडमाशनिबार आयोजित एक कार्यक्रममा युवा दस्ता गठन भएको हो । 


‘पहिचानका लागि युवा’ नारासहित युवा दस्ता गठन भएको हो । युवा दस्ताको संयोजकमा सामी पालुङवा चयन भएका छन् । सह–संयोजकमा सुमन सम्वाहाम्फे र कर्ण राजबंशी तथा सदस्य सचिवमा गौरिमान राईलाई मनोनीत गरिएको छ । 


संयोजक पालुङ्वा लामो समयदेखि लिम्बुवान प्राप्तीको आन्दोलनमा सक्रिय युवा हुन् । राजनीतिक रुपमा खारिएका युवाको नेतृत्वले युवा दस्ताले अघि सारेको आन्दोलन सफल बनाउन मद्दत पुग्ने बिश्वास पार्टीले लिएको छ । 


युवा गठनसँगै बिर्तामोडमा र्याली र कोणसभासमेत आयोजना भएको थियो । कोणसभामा सम्बोधन गर्ने वक्ताहरुले प्रदेशको नाम `कोशी´खारेज गराएरै छोड्ने दावी गरेका थिए । कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत दलहरुको अगुवाईमा युवा दस्ता गठन भएको हो ।

पहिचानवादी दलहरुको गतिविधिलाई नजिकबाट नियालिरहेको प्रशासनले भने ठुलो संख्यामा प्रहरी परिचालन गरेको थियो । कार्यक्रम स्थलमा सयौं शसस्त्र र जनपथ प्रहरी परिचालन गरिएको थियो । पहिचानवादी युवा दस्ताले प्रयोग गरिएको सञ्चारसेटको बिषयमा प्रशासनले अनुमती नदिएको स्पस्ट पारेको छ ।  सञ्चारसेट प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ । तर, शनिबार घोषित युवा दस्ताले प्रशासनबाट अनुमति नलिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनले प्रहरीले अनाधिकृत रुपमा प्रयोग भएको भए जफत गर्नेसमेत बताए ।