झापा । प्रतिनिधिसभाका सदस्य एबम् सभामुख देवराज घिमिरेले सरकार दीगो ढंगले चल्न नसकेको जनाउँदै यस्तो अवस्थामा जनप्रतिनिधिलाई अप्ठ्यारो परिस्थितिबाट गुज्रिनु परेको बताएका छन् ।

बजेट अभावले विकास निर्माणका कामहरु हुन नसकिरहेको जनाउँदै उनले ठेक्का सम्झौंता भइसकेका सडक निर्माण गर्न सरकार  लाचरी बन्नुपरेको बताए । उनले शनिश्चरे-जयपुर सडक समयमा निर्माण हुन नसकेकोमा दुःख व्यक्त गरे ।

झापा अर्जुनधारा नगरपालिकाको समग्र विकास निर्माणका बारेमा प्रतिनिधिसभाका सभामुख  घिमिरेसँगको मंगलबार सप्पन्न छलफलमा उक्त कुरा बताएका हुन् । 

झापा क्षेत्र नम्बर-२ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य तथा सभामुख घिमिरेले छलफलका क्रममा अर्जुनधाराको विकास निर्माणका बारेमा प्राथमिकताका आधारमा योजना अघि बढेकोसमेत बताए ।

त्यस्तै, कप्तानबाडी-कालिस्थान खतिवडा चोक हुँदै निर्माण हुने वैकल्पिक सडकको निर्माण हुने कुरामा विश्वस्त हुन नसकिने पनि उनले सुनाए । संघीय सरकार र प्रदेश सरकारबाट योजनामा परेका बजेटलाई कार्यान्वयनमा लैजान आग्रह गर्दै उनले विकास निर्माणको काम गर्ने वातावरण बनाउन स्थानीयलाई आग्रह गरेका छन् ।

सभामुख घिमिरेको पहलमा यस आर्थिक वर्ष करिब ३५ करोड बराबरका ५६ वटा योजना अर्जुनधारा क्षेत्रमा परेका छन् । जसमा प्राथमिकताका आधारमा योजना पारिएको बताइएको छ ।

सभामुखको सचिवालयका अनुसार पहिलो प्राथमिकतामा खोलाको तटबन्ध निर्माण रहेको छ भने दोस्रोमा अर्जुनधारा-८ को शनिश्चरे बजारको सौन्दर्यकरणलाई प्राथमिकतामा राखिएको छ । यसैगरी, नगरमा रहेका सडक निर्माण, पर्यटन र दूध तथा मासुको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको सचिवालयले जनाएको छ ।

अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा भएको छलफलमा अर्जुनधारा उद्योग वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्काले व्यापारीका समस्या तथा झापाको पुरानो बजार शनिश्चरेलाई चलायमान बनाउन ध्यानाकार्षण गराएका थिए ।

यस्तै, शनिश्चरे बहुमुखी क्याम्पस प्रमुख मोहन ओलीले क्याम्पसलाई प्राविधिक शिक्षामा लैजान, भूमि आयोग अर्जुनधाराका फोकल पर्सन वीरबहादुर राईले नगरमा रहेका अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न आग्रह गरेका थिए । राप्रपा अर्जुनधाराका अध्यक्ष सूर्य खतिवडा, एकीकृत समाजवादी अर्जुनधाराका अध्यक्ष अर्जुन मेचेले पनि आ-आफ्ना जिज्ञासा राखेका थिए । यसैगरी, सञ्चारकर्मी दिपिन राईले नगरमा रहेका सञ्चारमाध्यम र सञ्चारकर्मीका समस्या तथा निर्माणाधीन अर्जुनधारा प्रेस क्लबको सूचना केन्द्र भवनका बारेमा अवगत गराएका थिए ।

युवा नेतृ रोजिना पाण्डेले नगरमा बढ्दै गरेको लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि आवश्यक पहल गर्न ध्यानाकर्षण गराइन् । उनले बढ्दो बेरोजगार समस्या र वैदेशिक रोजगारको विकल्पको खोजी नितान्त आवश्यक रहेको सुनाइन् ।

कार्यक्रममा अर्जुनधारा ७ का तुलसी श्रेष्ठले सुकुम्बासीका समस्याका विषयमा २११ जनाले हस्ताक्षर गरेको ज्ञापनपत्र र पालिका कर्मचारी संघर्ष समिति झापाका प्रवक्ता राजु गिरीले कर्मचारीका माग सभामुखसमक्ष प्रस्तुत गरेका थिए । सभामुख घिमिरेको टोलीले अर्जुनधाराको बिर्तामोड–शनिश्चरे सडकखण्ड, शनिश्चरे–जयपुर, कालिस्थान–सेतीपानी सडकखण्ड , खुदुनाबारी बजारको अध्ययन अवलोकन गरेको थियो ।


बिरिङमा नयाँ पुल निर्माणको प्रक्रियाः सभामुख
सभामुख घिमिरेले बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडकखण्डमा पर्ने बिरिङ नदीको बाढीले भत्किएको पुलको पनि स्थलगत अवलोकन गरेका छन्। पुल अवलोकनका क्रममा उनले उक्त स्थानमा नयाँ पुल निर्माणका लागि प्रक्रिया सुरु गरिएको जानकारी दिए । सभामुख घिमिरेले भने-‘नयाँ पुल निर्माणको लागि पहल सुरु भएको छ ।’
पुलको डिजाइन र लागत इस्टिमेटको काम अन्तिम चरणमा रहेको उनले बताए । ‘अहिले भौतिक पूर्वाधार मन्त्री र सचिव दुवै जना विदेश भ्रमणमा हुनुहुन्छ’, सभामुख घिमिरेले भने,‘मैले झापा आउनुअघि हिजोमात्रै मन्त्रालयका कर्मचारीहरुसंग बुझेको छु’, पुल निर्माणका लागि आवश्यक प्रक्रिया चलिरहेको छ ।’

केही समयअघि आएको बाढीले बिरिङ नदीको पुल भाच्चिएको थियो । उक्त पुल भारतीय राजदूतावासको सहयोगमा २०६४ सालमा निर्माण भएको अर्जुनधारा नगरपालिकाका प्रमुख गोम्देनले जानकारी दिए ।

सभामुख घिमिरेसंगै नगर प्रमुख गोम्देन पनि पुल अवलोकनका लागि पुगेका थिए । पुल अवरुद्ध हुँदा सो मार्ग हुँदै आवतजावत गर्नेहरुले वैकल्पिक मार्गको प्रयोग गर्नु परिरहेको छ । अस्थायी रुपमा सामान्य मर्मत गरेर पुलमा २ पांग्रे र तीन पांग्रे साना सवारी भने आवतजावत गरिरहेका छन् ।