मेचीनगर । नेकपा (एकीकृत समाजवादी) ले १४ असोजदेखि `मेची-महाकाली रास्ट्रिय जागरण यात्रा´ शुरु गर्ने कार्यक्रम तय गरेको छ । 

नागरिकलाई जागरुक गराउने उद्देश्यले जागरण यात्राको तय गरिएको समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देलले जानकारी  दिए ।

अभियानको उद्घाटन समाजबादी पार्टीका केन्द्रीय अध्यक्ष माधब नेपालले  झापाको काँकडिभिट्टास्थित मेची नदीबाट सुरु गर्ने कार्यक्रम तय गरिएको हो ।

एकीकृत समाजवादी जिल्ला कमिटी झापा र मेचीनगर नगर कमिटीको संयुक्त आयोजनामा भएको पत्रकार भेटघाटसहितको अन्तरक्रियामा समाजवादी जागरण यात्राको बारेमा जानकारी गराइएको थियो ।


जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा र जिल्ला कमिटी झापाका इन्चार्जसमेत रहनुभएका समाजवादी जागरण यात्रा मुल समारोह कमिटीका संयोजक पुष्पराज पोख्रेलको प्रमुख आतिथ्यतामा तथा अन्तरक्रिया कार्यक्रम भएको थियो ।


सो क्रममा पत्रकारहरुले उठाएका विभिन्न विषयहरुमा नेताहरु पुष्पराज पोख्रेल, बेदराज रेग्मी, समाजवादी खेलकुद महासंघ प्रदेश अध्यक्ष समेत रहनुभएका समाजवादी जागरण यात्रा आर्थिक विभागका संयोजक शंकर थापा, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देलले सहजीकरण  गरेका थिए ।


यता, सोही अवसरमा नेकपा (एकीकृत समाजवादी) मेचीनगर कमिटीले जागरण यात्राको तयारी र त्यसको व्यवस्थापनका बारेमा बैठक वसेर छलफल गरेको एकीकृत समाजवादी झापाका पूर्व सचिव विपी भट्टराईले जानकारी दिए ।


त्यसैगरी, हिजो दमकमा जागरण यात्रालाई सफल बनाउन आवश्यक तयारीका बारेमा बैठक वसेर छलफल गरिएको समाजवादी प्रेस संगठन झापाका अध्यक्ष अनिलदेब राईले जानकारी दिए । राईका अनुसर दमकमा जागरण यात्राका लागि आगान्तुकहरुका लागि स्वागत गरिने जानकारी दिए ।