झापा । नेकपा (एकीकृत समाजबादी) पार्टीले पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले कृषि क्रान्ति र युवालाई स्वरोजगार बनाउँदै सुशासन कायम गर्न मेची-महाकाली अभियान सुरुवात गरिएको बताए । पार्टीको नीति बुझाउन जनतासँगै हातेमालो गरेर अघि बढ्ने बताउँदै उनले मौलाएको पुँजीवाद र सामन्तबादको अन्त्य गर्न देशमा समाजवाद ल्याएरै छाड्नेसमेत बताएका थिए ।
अभियान उद्घाटनको पूर्वसन्ध्यामा शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । अभियानको उद्घाटन गर्न पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, पार्टीका केन्द्रीय नेता तथा मन्त्री बेदुराम भुसाल, प्रकाश ज्वाला, पार्टीका महासचिव घनश्याम भुसाललगायतका नेता आइतबार आइपुग्ने पार्टी श्रोतले बताएको छ । मेची–महाकाली जागरण अभियानमा सहभागी हुन केन्द्रीय नेताहरु मेचीनगर आइपुगेका छन् । समाजबादीले भोलि झापाको काँकरभिट्टामा विषेश कार्यक्रम गरी अभियान सञ्चालन गर्दैछ । अभियानमा सहभागी हुन पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतसहित केन्द्रीय उपमहासचिव जगन्नाथ खतिवडा, डा. विजय पौडेल, तथा पोलिटव्युरो सदस्य र केन्द्रीय सदस्यको जम्बो टोली शनिबार काँकरभिट्टा आइपुगेको हो । कार्यक्रममा नेकपा (एकीकृत समाजबादी) पार्टी संगठन विभाग प्रमुखसमेत रहेका उपमहासचिव विजय पौडेलले १ हजार किलोमिटर लामो जागरण अभियानले खास सन्देश दिन लागेको बताए । उनले अभियानभर जनतासँग प्रत्यक्ष भेटघाट गरेर उनीहरुको रायसुझाव लिने तथा ठाउँठाउँमा कोणसभा र आमसभा आयोजना गरिने जानकारी दिए । पत्रकार सम्मेलनमा डा. विजय पौडेलले सहजीकरण गरेका थिए । असोज १४ गते काँकरभिट्टाबाट सुरु हुने जागरण अभियान असोज २८ गते सुर्खेतमा पुगेर समापन हुनेछ । त्यसपछि दोश्रो चरण अन्तरगतको अभियान तराईदेखि पहाडसम्म सञ्चालन गरिने पार्टीले बताएको छ । पार्टीका केन्द्रीय उपमहासचिव जगन्नाथ खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश अध्यक्ष बलदेव चौधरी, झापा जिल्ला इञ्चार्ज पुष्पराज पोख्रेल लगायतले जागरण अभियानका बारेमा थप जानकारी दिएका थिए । कार्यक्रमको संचालन प्रचार बिभागका बिकाश खतिवडाले गरेका थिए ।






















































