मेचीनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अबका दिनमा कम्युनिष्ट पार्टीले मात्रै देशको नेतृत्व गर्नसक्ने बताए ।
समाजवादी जागरण अभियान अन्तरगत आइतबार झापाको काँकरभिट्टामा उद्घाटनपछि बोल्दै अध्यक्ष नेपालले यस्तो कुरा बताएका हुन् । उनले कम्युनिस्ट सरकारले सर्वसाधारण जनताको समस्या बुझ्ने र समाधान गर्ने भएकाले अन्य पार्टीले नेतृत्व गर्न नस्क्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणबाट आएपछि जनताका समस्याहरुलाई सरकारले सम्बोधन गर्नुपर्छ भन्ने उद्देश्यले पार्टीको तर्फबाट ज्ञापनपत्र बुझाएको जनाउदै नेता नेपालले भने,`युवालाई रोजगार, कृषि उत्पादनमा जोड लगातयका जनताको जनजीविकाको सवालमा हातेमालो गर्दे अघि बढ्ने उद्देश्यले समाजवादी जागरण अभियान सुरु गरिएको हो ।´
पूर्वप्रधानमन्त्री समेत रहिसकेका नेपालले ‘समाजवादको बाटोमा जान कम्युनिष्टहरुबीच एकता अहिलेको आवश्यक हो, अध्यक्ष नेपालले भने–‘त्यसैले चार वटा पार्टीहरुसँग मोर्चाबन्दी गरेका छौँ । कसैप्रति हाम्रो संकृर्ण सोच राख्दैनौँ । आउन चाहाने अन्य कम्युनिष्टहरुलाई मोर्चामा स्वागत गरेकाछौ ।’
कार्यक्रममा पार्टीका वरिष्ठ सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले दलाल पुँजीवादी साशनले देश कब्जा गरेकाले जनताको गाँस, बास र कपासको व्यवस्था अहिलेसम्म राज्यले गर्न नसकेको आरोप लगाए ।
उनले जवसम्म देशमा समाजवाद आउँदैन तवसम्म हाम्रो यो अभियान नरोकिने दृढता व्यक्त गरे । अहिलेसम्म व्यवस्था बदलियो तर, जनताको अवस्था उस्तै रहेको नेता खनालले गुनासो गरेका थिए । पार्टीका केन्द्रीय उपाध्यक्ष जयन्ती राईले कोशी प्रदेशको नामाकरणका विषयमा चाडो छलफल गरेर समस्या समाधान गर्नुपर्ने बताइन् ।
पार्टीका केन्द्रीय महासचिव घनश्याम भुसालले गणतन्त्र बाटोमा अल्मलिएको बताए । ‘गणतन्त्रले बाटो विराएको छ’, भुसालले भने-‘हिजै भन्नुपर्दथ्यो, ढिलो भयो । राजनीतिक विग्रीएको छ । बाटो विराएका कारण कम्युनिष्टहरु एकहुने काम भइरहेको छ ।´
कृषिमा निर्भर ५९ लाख परिवारमध्ये ३० लाख परिवारलाई व्यवस्थापन गरेर कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ हाम्रो अभियान सुरु गरिएको उनको भनाई छ ।
कार्यक्रमअघि काँकरभिट्टा बजारमा र्याली गरिएको थियो । र्यालीमा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरु घनेन्द्र वस्नेत, जयन्ती राई, कृषि मन्त्री वेदुराम भुसाल, उपमहासचिव जगनाथ खतिवडा, रामकुमारी झाँक्री, दिपक मनाङ्गे लगायतका नेता तथा कार्यकर्ताहरु सहभागिता भएका थिए ।
कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । सो अवसरमा सडक नाटक समेत प्रदर्शन गरिएको थियो ।
आइतबारदेखि सुरु हुने अभियान अनुसार असोज १४ गते पहिलो दिन बिर्तामोड र दमकमा कोणसभा कार्यक्रम रहेको छ । पार्टीका प्रदेश अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत झापाकी सहइन्चार्ज चन्द्रा श्रेष्ठ र सञ्चालन झापा इन्चार्ज पुष्प पोखरेलले गरेका थिए ।






















































