मेचीनगर । नेकपा माओवादी केन्द्र मेचीनगरले पार्टीको आन्तरिक बिषयमाथि बृहत्त अन्तरक्रिया कार्यक्रम मंगलबार काँकरभिट्टामा सम्पन्न गरेको छ ।
प्रदेश, क्षेत्र, नगर र वडाबाट सहभागी पार्टीका इन्चार्ज, अध्यक्ष, सचीव तथा पदाधिकारीहरु सम्मिलित अन्तरक्रियामा नगर र वडामा देखिएको समस्या, जनगुनासो र समाधानको बिषयमा छ्लफल भएको थियो । कार्यक्रममा मेचीनगरका १५ वटै वडाका इन्चार्ज, अध्यक्षले सर्बसाधारण गरीब-बिपन्न जनताका जटिल समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
जनताका समस्यालाई पार्टीले स्थानीय निकाय र सरोकारवलासँग समन्वय गरेर समाधानको पहल गर्नुपर्ने सुझाव दिएका हुन् ।छलफलमा पार्टी सुदृढीकरण अभियान अन्तरगत वडा र टोलटोलमा देखिएका समस्यालाई छिट्टै पार्टीले समाधान खोज्नुपर्नेमा जोड दिएका थिए ।
यसैबीच बिदेशबाट फर्किएका युवाहरूको संस्था रिटेर्नी नेपालले मेचीनगरमा संस्थालाई सकृय बनाउन समिति गठन गर्ने भएको छ । जसका लागि पुस महिमाभित्र बृहत बनभोज कार्यक्रमबीच समिति गठन गर्ने निर्णयसमेत गरेको छ । सर्वसाधारण जनताको गुनासो स्वयम्बाट सुन्न र समाधानको उपाय खोज्नका लागि नगरभित्र बृहत्त बनभोजसहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले जानकारी दिए ।
बृहत बनभोज तथा अन्तरक्रियामा ५ सयबढी सर्वसाधारण आगन्तुक तथा कार्यकर्तालाई सहभागी गराइने जनाइएको छ । बृहत बनभोजका लागि नगर अध्यक्ष चिमरियाको संयोजकत्वमा वडा इन्चार्ज, अध्यक्ष सम्मिलित ४१ सदस्य ब्यवस्थापन समिति समेत तय गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश समिति सदस्य प्रकाश भण्डारी पार्टीभित्र कुनै समस्या नहरेको जनाउँदै परिणाममुखी काम गर्न मातहतका कमिटीलाई निर्देशन दिएका थिए ।
पार्टी र जनताबीचको सम्बन्ध जीवन्त राख्न पार्टी केन्द्रीय नीति तथा कार्यक्रमलाई आत्मसाथ गर्दै स्थानीय तहमा मौलिकता भुगोल र भाषिक-सांस्कृतिक बिषयलाई जोडेर मेचीनगरले नबिनतम कार्यक्रम ल्याउने अध्यक्ष चिमरियाले प्रतिबद्धता व्यक्त गरेका थिए । राजन चिमरियाको अध्यक्षतामा सम्पन्न अन्तरक्रियाको संचालन ज्ञानेन्द्र घिमिरेले गरेका थिए ।























































