मेचीनगर । मेचीनगरमा जारी `प्रथम मेचीनगर स्पोर्टस् मेनिया-२०८०´ अन्तर्गत पुरुषतर्फको फुटबल प्रतियोगितामा वडा नम्बर २ र ११ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार काँकरभिट्टा माविको खेल मैदानमा भएको प्रतियोगिताबाट मेचीनगर-११ ले वडा नम्बर १३ लाई र मेचीनगर–२ ले वडा नम्बर १० लाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
शनिबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा मेचीनगर-१३ लाई मेचीनगर-११ ले १–० को गोल अन्तरले जीत गरेको थियो ।  मेचीनगर–११ का तर्फबाट सजल धिमालले निर्णायक गोल गरेका थिए भने खेलको म्यान अफ दी म्याच पनि धिमाल घोषित हुँदै नगद २ हजारसहित प्रमाण पत्र प्राप्त गरे ।
अर्को वडा नम्बर २ र १० बीचको प्रतियोगितामा १० लाई २–१ गोल अन्तरले पराजित गरेको हो । मेचीनगर–२ का तर्फबाट १७ औँ मिनेटमा पुजन राईले गोल गर्दै अग्रता दिलाए । तर, अग्रता लिएको २ मिनेट नबित्दै मेचीनगर-१० का सन्दिप खवासले गोल गरेपछि गोल बराबरी बनाएका थिए ।
खेलको ३७ औँ मिनेटमा मेचीनगर–२ का तर्फबाट प्रविन लिम्बूले टिमका लागि दोश्रो गोल गरे । खेलको म्यान अफ दी म्याच मेचीनगर–२ का पुजन राई घोषित हुँदै नगद २ हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।
भोलिको पहिलो सेमिफाइनल खेल वडा नम्बर ६ र १५ बीच र दोश्रो सेमिफाइनल खेल वडा नम्बर ११ र २ बीच हुने आयोजकले जनाएको छ । फुटबलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र काँकरभिट्टा भेट्रान फुटबल क्लबको प्राविधिक सहयोग रहेको छ । नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल चैत ६ गते हुनेछ ।