झापा । नेकपा एमाले झापाको ११ अधिवेशनबाट प्रेमबहादुर गिरी अध्यक्षसहित पाँच जना निर्विरोध भएका छन् । बिहीबारबाट बिर्तामोडमा शुरु भएको अधिवेशनको बन्द सत्रबाट संविधानसभा सदस्यसमेत रहेका गिरी अध्यक्षमा निर्विरोध चयन भएका हुन् । यद्यपि आधिकारिक घोषणा हुन भने बाँकी छ ।

नेकपा एमाले झापाका जिल्लास्तरीय एक नेताले दिएको जानकारी अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीको अध्यक्षतामा नेतृत्व चयन गर्न निर्देशन दिएसँगै पाँच जनाको अध्यक्षसहित पाँच जना निर्विरोध भएका हुन् ।

उपाध्यक्ष असारु राजवंशी, सचिव तुलसी कार्की, उपसचिव खगेन्द्र नेपाल र उपसचिव अनिता कन्दङ्वा निर्विरोध भएका हुन् ।

अध्यक्षका लागि शिव ढुङ्गेलले दाबी गरेपनि ओलीको निर्देशनमा नेतृत्व चयन भएको बताइएको छ । यद्यपि निर्वाचन समितिले उनीहरूको नाम आधिकारिक रुपमा घोषणा भने गरेको छैन । बाँकी पदमा भने छलफल भइरहेको बताइएको छ ।
बिहीबारबाट शुरु भएको अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटी बन्ने बताइएको छ । गिरी एमाले अध्यक्ष ओलीका निकट मानिएकाले पनि उनलाई अध्यक्ष बनाउन ओलीले निर्देशन दिएको बताइएको छ ।

पालिकाबाट ४३० जना, जनसङ्गठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागी भएको जिल्ला कमिटीले जनाएको छ । अधिवेशनको बन्द सत्रमा कार्यवाहक अध्यक्ष गिरीले राजनीतिक प्रतिवेदन र सचिव शिव ढुङ्गेलले शुक्रबार  सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नेछन्  ।