झापा । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) झापाको अध्यक्षमा प्रेम गिरी सर्वसम्मत चयन भएका छन् । पार्टीको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा गिरी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक टंक दंगालले बिहीबार घोषणा गरेका छन् ।

उनले पार्टीको उपाध्यक्षमा शिवकुमार ढुंगेल, सचिवमा तुलसी कार्की, उपसचिवमा असारु राजवंशी, महिला उपसचिवमा अनिता कन्दङ्वा सर्वसम्मत चयन हुने भएको बताए । उनका अनुसार जिल्लामा अधिवेशनबाट १४९ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ । 

पार्टीका झापा इञ्चार्ज  तथा पोलिटब्युरो सदस्य विशाल भट्टराईका अनुसार पदाधिकारी पाँचजना, १५ वटा पालिकावाट ११० जना, खुल्ला सदस्य १५ जना, आदिवासी जनजातिवाट पाँच जना, दलितबाट पाँचजना,  अल्पसंख्यक मधेशीवाट तीनजना, मजदुरवाट पाँच जना र अपाङ्गवाट एक जना गरी १४९ जना सर्वसम्मत चयन भएका हुन् ।  चयन भएको समितिलाई आजै सपथ ग्रहण ग्रहण गराईएको छ । उनले बाँकी १० प्रतिशतलाई पार्टीको पहिलो बैठकले मनोनित गरिने जानकारी दिए ।

कार्यक्रममा नेताहरु हिक्मत कार्की, बिशाल भट्टराई, देवेन्द्र दाहाल, रविन कोइराला, रोमनाथ ओली, जसमाया जगमेर, इन्द्र भण्डारी, मेनुका काफ्ले, जलवर्षा राजवंशी लगायतले मन्तव्य राखेका थिए । अधिकांश नेताहरुले झापाले सर्वसम्मत गरेर देशव्यापारी सकारात्मक सन्देश दिएको बताएका थिए । झापामा सर्वसम्मत गरेर एकताको सन्देश दिएको नेताहरुको भनाई थियो ।

नवनिर्वाचित अध्यक्ष गिरीले प्रतिवद्धता मन्तव्य राख्दै जनताको आँत हास्ने गरी काम गर्न जिल्ला कमिटी जिम्मेवारपूर्वक लाग्ने बताए ।  एमाले अधिवेशनको उद्घाटन चैत १५ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।