विराटनगर । माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । उसका तीन मन्त्रीले सोमबार राजीनामा बुझाएका छन् । माओवादी मन्त्रीहरू गणेश उप्रेती, राजेन्द्र कार्की र नारायण बुर्जामगरले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्। 

माओवादीले सोमबारमात्रै प्रदेश सरकारमा बाहिरिने निर्णय गरेको थियो। संघमा गठबन्धन फेरिएसँगै प्रदेश सरकारमा पनि त्यसको असर परेको हो।

केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नेकपा एमाले र माओवादी केन्द्रले वैकल्पिक सरकारका लागि दाबी पेश गरेका छन् ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेको भन्दै एमाले र माओवादी केन्द्रले हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनाउनका लागि राजनीतिक दाबी पेश गरेका हुन् । दाबी अनुसार भए अबको एक महिनाभित्र कार्की तेस्रो पटक मुख्यमन्त्री बन्ने छन् ।

मुख्यमन्त्रीमा दाबी पेश भने प्रदेश प्रमुखले आह्वान गरेपछि मात्रै गर्न मिल्छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएका दलले विशेष अधिवेशन पनि माग गरेका छन् । अधिवेशनमा मुख्यमन्त्रीलाई राजीनामा गर्न बाध्य बनाउने रणनीति बनाएको गठबन्धनले राजीनामा नदिए ३० दिन पर्खने र त्यसपछि नयाँ सरकार गठनको प्रारम्भ हुने बताउँदै आएको छ ।