इलाम। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले-माओवादीको गठबन्धन आगामी माघ महिना नकट्ने दाबी गरेका छन् ।
इलाममा शनिवार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन आगामी माघ महिना नकट्ने दाबी गरेका हुन् । उनले चुनाव अघिको गठबन्धनलाई अब बिदा गर्नुपर्ने उल्लेख  गरेका थिए ।
‘इलामको यो चुनाव गठबन्धनको राजनीतिक भविष्यसँग जोडिएको छ उनले भने, ‘चुनावमा गठबन्धनको राजनीति गलत हो भन्ने इलामले स्थापित गर्नुपर्छ । हामीले यसअघि गठबन्धन गरेर चुनाव लडेको हुनाले आगामी निर्वाचनसँग सँगै रहन चाहन्थ्यौं । तर, हाम्रो चाहनाले मात्रै भएन । आज एमाले र माओवादी जोडिएर फेरि आउनुभएको छ । आज वैशाख ८ गते म यहाँ उभिएर भन्दैछु, यो अहिलेको गठबन्धनले २०८१ को माघ कटाएछ भने म तपाईंहरूकै अघि उभिएर जवाफ दिन आउनेछु ।’
उनले चुनावअघि गठबन्धन मतदातालाई धोका र बेइमानी भएको टिप्पणी गरे ।