काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जीत हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गर्दै जनकपुरले तेस्रो जीत हासिल गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो । पोखराका लागि मार्कस क्रिचले सर्वाधिक ३५ रन बनाए । माइकल लिस्कले २५, एन्ड्रिज गौसले २०, रेमन रेफरले १७ र दिलीप नाथले ११ रनको योगदान दिए । साथै दिनेश खरेलले १०, कप्तान कुशल भुर्तेलले छ रन जोडे भने अविजित रहँदै नारायण जोशीले पाँच र विपिन खत्रीले एक रन बनाए ।
जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, जेम्स निशमले दुई, मोहम्मद मोहसिन र किशोर महतोले समान एक/एक विकेट लिए ।
जारी एनपिएलमा पोखरा एभेन्जर्सको यो दोस्रो हार हो । यसअघि पोखरालाई चितवनले ८७ रनको फराकिलो अन्तरले हराएको थियो । आज हुने दोस्रो खेलमा काठमाडौंँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।























































