बिर्तामोड । आयोजक झापा-११ एफसीलाई पाखा लगाउदै झापाको बिर्तामोडमा जारी `झापा कप २०८१´ फुटबल प्रतियोगिताबाट जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

स्टार खेलाडीले भरिएको झापा-११ कमजोर खेलका कारण राष्ट्रिय जागृति क्लब इटहरीबाट २-० गोल अन्तरले पराजीत हुनुपरेको हो ।  राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेसगै उसले भारतको जिटिए दार्जिलिङसँगको भेट पक्का गरेको छ । जागृतिको जितमा मिलन राई नायक बने । उनले दोस्रो हाफको ५३ र ६२ औँ मिनेटमा टिमको लागि गोल गर्न सफल भएका थिए । खेलको ५३ औँ मिनेटमा गोलपोस्टको २० यार्डमा झापाका डिफेन्डर विशाल दर्जीले जागृतिका मिलन राईलाई फाउल गरेका थिए । त्यसपछि पाएको फ्रिकिकलाई राईले नै गोल गर्न सफल बने।IMG_20241215_184508

खेलमा दोस्रो गोल राईले नै गर्न सफल भए । ६२ औँ मिनेटमा झापाका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई राईले गोलमा परिणत गरे । गोलकिपर सन्दीप लिम्बूलाई बिट गर्दै गरेको प्रहारले जागृतिको अग्रता दोब्बर बनायो ।

खेलको प्लेयर अफ द म्याच जागृतिका २ गोलकर्ता मिलन राई भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । उनलाई झापा ११ का अध्यक्ष जलकुमार गुरुङ लगायतले ट्रफी प्रदान गरे ।

सोमबारको पहिलो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुबटल क्लब र सलहेस फुटबल क्लब सिराहाबीच हुने आयोजकले जनाएको छ ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक आयाेजक समितिका संयाेजक केशबराज दाहालले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्साहन गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।