झापा । नेपाली कांग्रेसको संस्थापन इतर समूहले झापाका पाँचवटै क्षेत्रमा क्षेत्रीय समन्वय कमिटी तोकेको छ ।
आगामी साउन २९ गते काठमाडौंमा समूहको भेलाको तयारीसँगै झापामा संगठनात्मक गतिविधिका लागि समन्वय कमिटी तोकेको हो ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहले पाँचै निर्वाचन क्षेत्रमा संयोजक र सदस्यको जिम्मेवारी तोकिएको छ । झापा–१ को संयोजकमा निवर्तमान जिल्ला सभापति सञ्जय निरौला र सदस्यमा निर्मला भण्डारी चयन भएका छन् । झापा–२ को संयोजकको जिम्मेवारी बिर्तामोड नगर सभापति भोजराज सिटौलाले पाएका छन् ।
सदस्यमा तरुण दलका पूर्वकेन्द्रीय सदस्य मदन बुढाथोकी र जिल्ला समिति सदस्य ओम बिमली छन् । त्यस्तै, झापा–३ को संयोजकमा कांग्रेसका पूर्वजिल्ला सचिव भगिरथ पोद्धार चयन भएका छन् । सदस्यमा कोशी प्रदेशसभा सदस्य भूमि राजवंशी र महासमिति सदस्य विजय रिजाल छन् । झापा–४ को संयोजकमा सूर्यनारायण ताजपुरिया चयन भएका छन् । ताजपुरिया कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा दुईपटक उम्मेदवार बनेका नेता हुन् । सदस्यमा विष्णुप्रसाद खरेल, शिवसताक्षीका दिपेन पाठक र राजेन्द्र उप्रेती छन् । झापा–५ को संयोजकमा खगेन्द्रप्रसाद अधिकारी चयन भएका छन् । अधिकारीले प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरिसकेका छन् । सदस्यमा राजकुमार न्यौपाने ‘राजु’ छन् ।
जिल्लामा संस्थापन इतर समूहको समन्वयको जिम्मेवारी कांग्रेस झापा जिल्ला सचिव कृष्ण हुमागाईंले सम्हालिरहेका छन् । साउन २९ गते काठमाडौंमा हुने भेलालाई लक्षित गर्दै इतर समूहले जिल्ला तथा क्षेत्रीय तहमा संगठन परिचालन र समन्वयलाई तीव्र बनाएको जनाएको छ ।























































