मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सुपारी खेती विस्तारका लागि प्रोत्साहन कार्यक्रम अगाडि सारेको छ । आफ्नो नगरका सुपारी किसान समुहलाई सुपारीको बेर्ना उत्पादन कार्यक्रममा ८० प्रतिशत अनुदानमार्फत सहयोग गरेको हो।
मेचीनगरसहित छिमेकी पालिकामा सुपारी खेती नगदेवालीको रूपमा रहेको छ । सुपारी कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले बजेट विनियोजन नै गरेर सहयोग पुर्याइरहेको छ ।
सुपारी कृषकसंग प्रत्यक्ष जोडिएर उनिहरूको आर्थिक स्तरोन्नतिमा थोरै भएपनि टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले लगानी गरेको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । सोही कार्यक्रममध्ये सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादन कार्यक्रम पनि रहेको उनको भनाइ छ ।
स्थानीय सरकारको किसानलाई उत्पादनमूलक क्षेत्रमा आत्मनिर्भर बनाउँदै कृषि क्षेत्र कृयाशिल बनाउन त्यस क्षेत्रमा सहयोग गर्ने भनाइ छ ।
मेचीनगर-१ बासेस्थित मेची कृषक सुपारी समूहलाई ८० प्रतिशत अनुदान कार्यक्रममार्फत नगद दुई लाख रूपैयाँ विनियोजन गरेको थियो
मेची कृषक किसान समुहले उक्त कार्यक्रम सुरू गरेको छ । उक्त कार्यक्रमको उद्घाटन नगरप्रमुख बुढाथोकीले गरेका छन् । कार्यक्रममा सुपारी खेतीका अभियान्ता निलकण्ठ तिवारी, मेची कृषक सुपारी समूहका अध्यक्ष रन्तबहादुर कार्की, उपाध्यक्ष खड्गबहादुर राईलगायत अन्य पदाधिकारी तथा किसानहरूको सहभागीता रहेको थियो ।
नगरपालिकाले सुपारी खेती विस्तारका लागि ८० प्रतिशत अनुदान कार्यक्रममार्फत बेर्ना उत्पादन कार्यक्रमका लागि मेची कृषक किसान समुहसंगै मेचीनगर ९ र १२ का किसानलाई समेत आर्थिक सहयोग उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।






















































