झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले विभिन्न अपराधमा संलग्न रहेको आरोपमा फरार रहेका हल्दिबारी गाउँपालिका–९ का बितेश ओली (नवराज) लाई नियन्त्रणमा नलिएको भन्दै नेपाल पत्रकार महासंघ आपत्ति जनाएको छ ।
महासंघका पदाधिकारीविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेको गालीगलौज, चरित्रहत्या, भ्रामक सामग्री सम्प्रेषण तथा ज्यान लिने धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ झापा शाखाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत ओलीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन सम्बन्धित सुरक्षा निकायसँग माग गरेको हो ।
महासंघका अनुसार ओलीले केही समययता सामाजिक सञ्जाल, फेसबुक र म्यासेन्जरमार्फत पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तथा पदाधिकारीलाई लक्षित गर्दै चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक सामग्री सम्प्रेषण गर्नुका साथै ज्यान लिने धम्कीसम्म दिने गरेको पाइएको छ ।
पत्रकारिता पेसामा संलग्न पत्रकारहरूलाई बदनाम गराउने उद्देश्यले भइरहेका यस्ता गतिविधि निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रताविरोधी कार्य भएको महासंघले जनाएको छ । घटनाबारे महासंघ केन्द्रीय समिति र कोशी प्रदेश समितिसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार महासंघमै उजुरी, प्रहरीमा मुद्दा महासंघका अनुसार ओलीले यसअघि आफू पत्रकार हुँ भन्दै विभिन्न सञ्चारमाध्यमको नाम प्रयोग गरी उद्योगी–व्यवसायीसँग रकम माग्ने तथा विभिन्न विषय उठाएर हैरानी दिएको विषयमा महासंघ झापा र जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।
त्यसपछि महासंघ झापाले विज्ञप्तिमार्फत ओलीलाई सचेत गराएको थियो । तर, त्यसपछि पनि उनले महासंघ झापा तथा पदाधिकारीविरुद्ध तथ्यहीन, भ्रामक र कपोलकल्पित विषय उठाएर मानमर्दन गर्ने कार्य निरन्तर गरिरहेको महासंघको दाबी छ ।
महासंघले यस विषयमा २०८३ असार १५ गते साइबर अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय झापामा संस्थागत रूपमा जाहेरी दर्ता गराएको जनाएको छ । सोही जाहेरीका आधारमा जिल्ला अदालतबाट ओलीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पुर्जी जारी भए पनि एक महिनादेखि फरार:
अदालतबाट पक्राउ पुर्जी जारी भइसके पनि ओली हालसम्म पक्राउ नपरेको भन्दै महासंघले प्रहरीको कार्यक्षमतामाथि समेत प्रश्न उठाएको छ ।
महासंघका अनुसार फरार रहेका ओलीले कानुनलाई खुला चुनौती दिँदै सामाजिक सञ्जालमार्फत महासंघका पदाधिकारीमाथि निरन्तर गालीगलौज, चरित्रहत्या, आधारहीन आरोप, अपवाह फैलाउने र धम्की दिने गतिविधि गरिरहेका छन् ।
विभिन्न माध्यमबाट ज्यान लिने धम्की समेत दिइएको भन्दै महासंघले आफ्ना पदाधिकारी तथा पत्रकारहरूको सुरक्षामा चुनौती थपिएको जनाएको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय झापा र प्रमुख जिल्ला अधिकारीको समेत पटक–पटक ध्यानाकर्षण गराइएको विज्ञप्तिमा उल्लेख छ ।
‘पक्राउ गर्न नसक्नुले प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न’:
पत्रकारिता पेसाप्रति घृणा, अफवाह फैलाउने तथा पत्रकार महासंघ र पदाधिकारीहरूको चरित्र हत्या गरिरहेको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि आरोपी पक्राउ नपर्नुले प्रहरीको कार्यक्षमतामाथि नै प्रश्न खडा भएको महासंघले जनाएको छ ।
महासंघले फरार रहेका व्यक्तिको ह्वाट्सएप, म्यासेन्जर तथा फेसबुकलगायत सामाजिक सञ्जालबाट २४ सै घण्टा चरित्र हत्या र भ्रामक सामग्री सम्प्रेषण भइरहेको दाबी गरेको छ ।
सामाजिक सञ्जालमा निरन्तर सक्रिय रहे पनि पक्राउ प्रक्रियामा नआउनुले महासंघलाई थप आश्चर्यमा पारेको विज्ञप्तिमा उल्लेख छ । अपराधमा संलग्न व्यक्तिलाई हालसम्म कानुनी दायरामा ल्याउन नसकिएको विषयले प्रहरी प्रशासनको भूमिकाप्रति गम्भीर शंका उत्पन्न भएको महासंघको भनाइ छ ।
तत्काल पक्राउ गर्न सरकारसँग माग:
नेपाल पत्रकार महासंघ झापा शाखाले ओलीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकार तथा सम्बन्धित सुरक्षा निकायसँग जोडदार माग गरेको छ ।
महासंघले सामाजिक सञ्जालमार्फत भइरहेको भ्रमपूर्ण तथा अवाञ्छित गतिविधि रोक्न र दण्डहीनताको अन्त्य गर्न सरकारसँग आग्रह गरेको छ । साथै, एक साताभित्र ओलीलाई कानुनी दायरामा नल्याए महासंघ सशक्त कदम चाल्न बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमार्फत दिएको छ । महासंघले घटनाबारे सम्बन्धित निकायलाई विज्ञप्तिमार्फत जानकारी गराइसकेको जनाएको छ ।























































