झापा । आज अन्तर्राष्ट्रिय युवा दिवस ।देशभर विभिन्न कार्यक्रम गरी अन्तरराष्ट्रिय युवा दिवस मनाइदैछ । अन्तर्राष्ट्रिय युवा दिवसमा मूल नारा ‘भिन्न परिवेश, `साझा आकाङ्क्षा’ रहेको छ ।
युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ । सन् २००० देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाइँदै आएको छ । अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ ।
यस्तै, साझेदारी एवम् लगानी अभिवृद्धि गर्ने, युवामैत्री शासन प्रवद्र्धन गर्ने सहयोग गर्ने, युवा केन्द्रित सरकारी, गैरसरकारी, निजी संस्था-निकायहरूबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नुरहेको छ।
दिवसका अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ । कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसम्बन्धी प्रदर्शनी गरिँदैछ ।
यो दिवस युवा जागरणका दिशामा विश्वव्यापी र साझा अभियान हो । यस दिवसले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता र साझेदारी बढाउने प्ररेणा दिएको छ ।
सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच एकता र पारस्परिकता प्रवद्र्धनमा सबैलाई हातेमालो गर्दै अघि बढ्ने सङ्कल्प समेत दिवसका अवसरमा व्यक्त हुँदै आएको छ ।
दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न ६ वटा व्यवसायलाई पुरस्कृत गरिँदैछ । यस्तै, सातै प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार, १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या एक करोड २४ लाख १२ हजार १७३ जना अर्थात् कूल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत छ ।























































