IMG_20231011_073425मेचीनगर । परिवर्तन थिएटर झापाले आदिवासी समुदायको कथा समेटेर तयार पारिएको नाटक ‘म्लेच्छ’ रंगमञ्चमा उतार्ने भएको छ । थिएटरले असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म हरेक दिन दुई पटक उक्त नाटक प्रदर्शन गर्ने भएको हो ।

नाटकका लेखक पत्रकार पर्वत पोर्तेल हुन् भने कलाकार गणेश बस्नेतले निर्देशन गरेका छन् । आदिवासी समुदायको उद्भव, विस्तार तथा पलायन जस्ता विषयलाई समेटेर तयार पारिएको नाटकले समग्र आदिवासी समुदायको मुद्दा उठाउने कोसिस गरिएको नाटकका निर्देशक बस्नेतले पत्रकारलाई जानकारी गराएका थिए ।

नाट्य क्षेत्रमा सक्रिय रहेका उनले आदिवासी समुदायको कथामाथि नाटक निर्देशन गर्नु ठुलो चुनौती रहेकोसमेत औंल्याए । 

‘म्लेच्छ’ शब्द उच्चारणमा मात्रै नभएर परिभाषामा गम्भीर शब्द हो । आदिवासी भाषामा यसको अर्थ ‘अनार्य’ हुन्छ । यति गम्भीर विषयलाई छनोट गरेर तयार पारिएको  नाटकले आदिवासीले भोग्दै आएका दुख-सास्तीलाई चित्रण गरेको संस्थाकी संस्थापक अध्यक्ष तथा कला संयोजक कविता नेपालले बताइन् ।

मेची सामुदायिक भवन काँकरभिट्टामा असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म दिनको दुईपटक दिउँसो २ बजे र साँझ ५ : ३० बजे प्रदर्शन हुने यस नाटक हेर्न टिकटको व्यवस्था गरिएको छ । टिकटमा विद्यार्थीका लागि एक सय रुपैयाँ लाग्छ भने साधारणतया २ सय ५० मा नाटक हेर्न सकिने बताइएको छ ।

एक घण्टा भन्दा बढी समय रंगमञ्चमा उत्रने यस नाटक अत्यन्तै गम्भीर तथा मनोरञ्जनात्मक रहेको संस्थाकी अध्यक्ष लिला विष्टले बताइन् । ‘ठुलो चुनौतीबीच तयार पारिएको उक्त नाटक अत्यन्तै राम्रो छ, सम्पूर्णले हेरिदिनुहुन अनुरोध गर्दछु’, उनले भनिन् ।

पत्रकार भेटघाटमा नाटकका बारेमा थिएटरका सचिव शिशिर चम्लागाईले प्रकाश पारेका थिए ।