झापा । वैदेशिक रोजगारीका क्रममा ओमनमा असुरक्षित भएकी झापा मेचीनगर-१५ ज्यामिरगढीकी २७ बर्षीया संजिता राजवंशीलाई  घर ल्याइएकाे छ ।

दसैंअघि मात्र ओमान पुगेकी राजवंशी असुरक्षित भएको महसुस गरेर हारगुहार गरेपछि नेपाली कांग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकाश शर्माले उद्दार गरेका हुन् ।

व्युटिपार्लरमा काम गरेरहेकी राजवंशी विवाहित महिला हुन्  ।मेचीनगर-१५ का वडाध्यक्ष गुणराज भट्टराई (राजन) ले करिव दुईलाख ५० हजारमा २ वर्षका लागि काठमाडौंकाे स्काईब्लु मार्फत ओमन गएकाे बताए ।

मंसिर ५ गते संजितालाई त्यहाँ कुनै पनि महिलाले सहन नसक्ने प्रकृतिको दुव्र्यवहार शुरु भएपछि साे घट्नाका विषयमा परिवार र वडाध्यक्ष भट्टराईले सांसद शर्मालाई उद्धार गरिदिन अनुराेध गरेका थिए ।

त्यसलगत्तै ओमानबाट उनलाई उद्वार गरेर नेपाल ल्याउने प्रक्रिया शर्माले शुरु गरे । शर्माकै पहलमा तत्कालै वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका महानिर्देशक मदन दहाल र ओमान स्थित नेपाली दूतावासलाई ध्यानाकर्षण गराइएकाे थियाे ।

मंसिर ६ गते दूतावासका श्रम सहचारीद्वारा राजवंशीको स्थितिको विषयमा विवरण संकलन गरिएको थियाे । मंसिर ७ गते ओमान सरकारसँगको समन्वयमा संजितालाई उद्वार गरेर नेपाली दूतावास ल्याइएकाे थियाे । नेपाल फर्काउन उनको सम्पूर्ण डकुमेन्ट तयार गरिएकाे थियाे ।

मंसिर ८ गते नेपाल फर्किने टिकट प्रबन्ध गरेर त्यहि दिन राती नै संजितालाई कुवेत ट्रान्जिट हुँदै काठमाडौँका लागि उडाइएकाे थियाे ।शर्माका अनुसार संजिता मंसिर ९ गते काठमाडौँ आइपुगिन । उनी मंसिर १० गते घर आइपुगेकी थिइन् । उनी दुतावासकाे सहयाेगमा नि:शुल्क नेपाल आइपुगेकाे सांसद शर्माकाे भनाई छ ।