झापा । कुवेतमा समस्यामा परेकी झापा मेचीनगर-१३ की खिल राजबंशीलाई उद्दार गरिदिन उनका परिवारले आग्रह गरेका छन् ।

परिवारले संघीय सांसद विश्वप्रकाश शर्मालाई भेटर समस्यामा परेकी खिललाई उद्दार गरी नेपाल फर्काइदिन आमा चिनी राजबंशीले आग्रह गरेकी हुन् । समस्यामा परेकी खिलको बिषय सुनेर सांसद शर्मा आफै मंगलबार मेचीनगर-१३ स्थित राजबंशीको घरमा पुगेका थिए ।

सांसद शर्माले समस्यामा परेकी खिललाई कुवेतबाट नेपाल फर्काउने प्रक्रिया सुरु गर्ने प्रतिबद्धता जनाएका थिए । ‘परिवारसंग कुरा गर्दा खिल श्रम स्वीकृति नलिई कुवेत पुगेको हो कि भन्ने अवस्था छ, सांसद शर्माले भने, ‘त्यस्तो अवस्थामा नेपाल फर्काउने प्रक्रिया अलि ढिलो हुन सक्छ तर पनि दुवैतर्फका सरकारलाई भनेर भएपनि खिललाई नेपाल फर्काउनुपर्छ ।’ 

असोज ३ गते कुवेत पुग्नु भएकी खिल राजबंशीले घरमा बन्धक बनाएको, खाना खान नदिएको र बिरामी हुँदासमेत काम गर्ने घरधनीले उपचार नगरेको भन्दै आमासंग टेलिफोनमा बताउने गरेको उनको आमाले बताइन् ।