बिराटनगर । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज राजीनामा पेस गरेका हुन् । प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (९) को खण्ड (क) बमोजिम गुरागाईंको राजीनामा आगामी सोमबारदेखि लागू हुनेगरी स्वीकृत भएको जनाइएको छ ।

गुरागाईंमाथि पदीय जिम्मेवारीभन्दा फरक ढंगले प्रश्नपत्र निर्माण तथा परिमार्जन, उत्तरपुस्तिका जाँच र अन्तर्वार्तासहितका संवेदनशील प्रक्रियामा संलग्न भएको आरोप लागेको थियो । यस विषयमा कोशी प्रदेशसभाको संसदीय समितिमा छानबिनका लागि उजुरीसमेत परेको थियो । उनीमाथि थोरै परीक्षार्थीका लागि परीक्षा हलमा धेरै निरीक्षक खटाइएकोे, छोटो अवधिमा परीक्षा सञ्चालन गर्न धेरै सिफ्ट चलाएर अतिरिक्त भत्ता असुल्ने प्रवृत्ति देखिएको आरोपमा उल्लेख छ।