काठमाडौँ। बलिङमा उत्कृष्ट पुनरागमन गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा विजयी सुरुआत गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा भएको खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो । कर्णालीले दिएको १३३ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै समेटियो । जनकपुर जिततर्फ अग्रसर देखिएका बेला कर्णालीका बलर युनिस सिंह ठकुरीले लगातार महत्त्वपूर्ण विकेट लिएपछि खेलको नतिजा उल्टिएको थियो ।
खेलमा प्लेयर अफ दी म्याच बनेका युनिसले तीन विकेट लिए । उनले जनकपुरका कप्तान हरमित सिंह, जिमी निसम र आदित्य मेहतालाई आउट गर्दै कर्णालीको जितको आधार तयार पारे ।
त्यसैगरी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो । विराटनगरका लागि इमरान शेखले ३९ र लोकेश बमले २६ रन बनाए । आन्द्रे रसेलले १७ बलमा ३३ रन जोडे ।
चितवनका कमल ऐरीले सर्वाधिक ४ विकेट लिए । रिजन ढकालले २ विकेट लिए भने टम टेलर, रञ्जित कुमार, दान माउजली र मौसुम ढकालले १–१ विकेट लिए ।





