झापा । इसेवाले दिइने सेवाको बिषयमा सुरक्षा वा गोपनीयतासम्बन्धी समस्याप्रती गुनासो बढेको पाइएको छ । उक्त बिषय कुनै पनि कारणले नभई कागपत्र प्रमाणीकरणका क्रममा फरक पर्न जाँदा त्यस्तो भएको उसको दाबी छ।
यद्यपि सामाजिक सञ्जालमा कैयौँ प्रयोगकर्ताहरूले "सुरक्षाका कारण एप हटाइएको हुन सक्ने" आशङ्का व्यक्त गरेका थिए। कतिपयले ईसेवा प्रयोग नगर्न तथा त्यसमा रहेको नगदलाई अन्यत्र सार्ने सुझाव पनि दिएका थिए।
अहिले ईसेवाको एप प्लेस्टोरमा उपलब्ध भइसकेको छ। नेपाल राष्ट्र ब्याङ्कले उक्त घटनालाई गम्भीरतापूर्वक लिएको र त्यसबारे थप बुझेर आवश्यक काम गर्ने जनाएको छ।
बीबीसीले नेपालमा ८० लाखभन्दा बढी प्रयोगकर्ता भएको भनिएको उक्त एपलाई प्लेस्टोरबाट हटाइनुको कारणसँग सम्बन्धित प्रश्नहरू सोधेर गुगललाई पठाएको इमेलको उत्तर भने हालसम्म प्राप्त गरेको छैन।
ईसेवाले व्यावसायिक एपबारे गुगलको नयाँ निर्देशिकानुसार आफ्नो कम्पनीले गुगललाई बुझाएका कागजपत्र र तेस्रो पक्षले गुगललाई उपलब्ध गराएका दस्तावेजमा कम्पनीको नाम फरक देखिएका आधारमा प्लेस्टोरले ईसेवाको एपलाई हटाइदिएको बताएको छ।
साइबर सुरक्षाविज्ञहरू ईसेवाले भने जस्तै कागजपत्र प्रमाणीकरणका कारण यस्तो समस्या देखिएको हो भने पनि त्यस्तो अवस्था आउन नदिन भुक्तानी सेवा दिने कम्पनीहरू चनाखो हुनुपर्ने सुझाव दिन्छन्।
गत सोमवार बेलुका गुगल प्लेस्टोरबाट हराएको ईसेवा एप बुधवार रातिदेखि मात्र उपलब्ध भएको थियो।
ईसेवाले पनि मङ्गलवार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् त्यसबारे जानकारी दिएको थियो।
"ईसेवा प्रालि, ईसेवा लिमिटेडमा परिणत भएसँगै उक्त विवरण गुगल प्लेस्टोर र डीयूएनएस (डेटा यूनिभर्सल नम्बरिङ सिस्टम)मा अप्डेट गर्ने क्रममा रहेको छ," त्यसमा भनिएको थियो।
"त्यसै कारण ईसेवा एप अस्थायी रूपमा प्लेस्टोरमा उपलब्ध नभएको तथा अहिले डाउनलोड भइसकेका ईसेवा एपहरूमा केही असर नपर्ने व्यहोरा यही सूचनामार्फत् जानकारी गराउन चाहन्छौँ।"
"गुगलले त्यस्तो भेरिफिकेशनका लागि डीयूएनएस (डेटा यूनिभर्सल नम्बरिङ सिस्टम) नम्बर प्रयोग गर्छ। त्यसका लागि डुन एन्ड ब्र्याडस्ट्रीट कम्पनीले आफैँले रिसर्च गरेर हाम्रो कम्पनीको विवरण गुगललाई पठाउँछ।
"हामीले गुगलमा पेस गरेको र डीयूएनएसले पठाएको नाममा केही भिन्नता देखिएपछि प्लेस्टोरले समस्या आएको हो। यो प्रयोगकर्ताको सुरक्षा र गोपनीयतासँग कुनै पनि हिसाबले सम्बन्धित छैन।"
उनले पहिले प्राइभेट लिमिटेड रहेको ईसेवा गत वैशाखदेखि पब्लिक लिमिटेड भएकाले नाममा पनि त्यस्तो फरक पर्न गएको बताए।
गुगललाई त्यो सबै बताएर प्रमाणीकरण भएपछि एप पुन: सञ्चालनमा आएको ईसेवाका अधिकारीहरूको भनाइ छ।खड्काले आफूहरू प्रयोगकर्ताको डेटा सुरक्षा तथा साइबर सुरक्षामा गम्भीर भएको बताए। "हामीले त्यसका लागि विश्वमा उपलब्ध सबै नयाँ प्रविधिलाई अपनाएका छौँ," उनले भने, "हामीले सुरक्षामा कहिल्यै पनि सम्झौता गरेका छैनौँ।"























































