काठमाडौं । नेपाल र चीनबीचको सम्बन्धलाई पर्यटनका माध्यमबाट पनि अझ सुमधुर गर्दै दुवै देशको भ्रमणमा पर्यटन पर्बर्धन जोड दिइएको छ ।

एकअर्काका नागरिकलाई प्रेरित गर्ने उद्देश्यले पर्यटन व्यवसायी, विमान कम्पनीहरूसँगको साझेदारीमा बुधबार चाइना कल्चरल सेन्टर (सिसिसीे)द्वारा ‘निहाओ चाइना’ कार्यक्रम आयोजना गरियो ।

चीनको राष्ट्रिय ध्वजावाहक एयर चाइना, चाइना सदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स र चाइना नेशनल टुरिष्ट कार्यालय काठमाडौँले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा यहाँस्थित सिसिसीे कार्यालयका निर्देशक सियाओ जियाङले कार्यक्रमका माध्यमबाचट नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ पर्यटन तथा त्यहाँका पर्यटकीय गन्तव्यबारे बुझ्न मद्दत पुगेको बताए ।

उनले चिनियाँ र नेपाली पर्यटन व्यवसायीबीचको सम्बन्ध स्थापना, सूचना आदानप्रदान र भावी सहकार्यका निम्ति अवसर मिल्ने विश्वास व्यक्त गरे ।

चाइना नेशनल टुरिष्ट अफिसका मोहन सुवालले पर्यटकीय उत्पादन, चिनियाँ खाना, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा र चिनियाँ पर्यटनका अन्य सम्पदाको बारेमा जानकारी दिए ।

कार्यक्रममा नेपाली पर्यटन व्यवसायीका साथै गुआङ्सी गुआङ्दा टुरिजम इन्भेष्टमेन्ट कम्पनी, तिब्बत यती इन्टरनेशनल ट्राभल सर्भिस र सिचुआन मिङ्यान ट्राभल एजेन्सीका चिनियाँ पर्यटक कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो ।

नेपाल भ्रमण वर्ष २०२५ लाई सफल पार्न तथा नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा द्विदेशीय पर्यटन प्रवद्र्धनका कार्यक्रम उपयोगी हुने कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका थिए ।