धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारी सोमनाथ उप्रेतीमाथि कार्यस्थलमै कुटपिट भएको घटनामा दुवै पक्ष उपचाररत रहे पनि सहमति जुट्न सकेको छैन । सहमति हुन नसकेपछि प्राधिकरणका कर्मचारीहरू चरणबद्ध आन्दोलनको तयारीमा जुटेका छन् ।

मेचीनगर–१० निवासी तथा नेकपा एमाले मेचीनगर कमिटीका सचिव ओली (सागर) र धुलाबारी वितरण केन्द्रको विद्युत चुहावट नियन्त्रण फाँटमा कार्यरत कर्मचारी सोमनाथ उप्रेतीबीच साउन २८ गते साँझ विवादपछि कुटपिट भएको हो । ओली र उप्रेती छिमेकीसमेत रहेको बताइएको छ ।

कर्मचारी उप्रेती र एमाले नेता ओली घाइते:

कर्मचारीहरूले बुझाएको ज्ञापनपत्रमा उप्रेती कार्यालयमा ग्राहकलाई सेवा प्रदान गरिरहेको अवस्थामा ओलीले विद्युत चुहावटसम्बन्धी विषयलाई लिएर विवाद गर्दै कर्मचारी उप्रेतीलाई कुटपिट गरेको आरोप लगाउदै आएका छन् । कुटपिटबाट उप्रेतीको आँखा तथा टाउकोमा चोट लागेको र शारीरिक तथा मानसिक क्षति पुगेको ज्ञापनपत्रमा उल्लेख छ । घटनापछि उप्रेतीलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगिएको र उनी हाल पनि उपचारकै क्रममा रहेको जनाइएको छ ।IMG-20260815-WA0014

घटनामा एमाले सचिव ओलीले कार्यालयमा पुगेर लगाइएको जरिवानाको बिषयमा सोधपुछ गर्दा कर्मचारी उप्रेतीले फाइल फाल्नुका साथै आफुमाथि प्रहार गरेको आरोप लगाएका छन् । ओली धुलाबारीस्थित आम्दा अस्पतालमा उपचाररत छन् । ओलीका अनुसार घटनाका क्रममा उनको अनुहारमा सामान्य चोट लागेको छ भने दाहिने हातका माँझी औंला र कान्छी औंलामा चोट लागेको छ । शरीरभित्र समेत चोट लागेपछि अस्पतालमा भर्ना भएर उपचार गर्दै आएका छन् । 

कर्मचारी उप्रेती र एमाले नेता ओलीबीचको आरोपप्रत्यारोपबाट सुन्नेले पक्ष र नसुन्नेले विपक्षको कुरा तथा सामाजिक सन्जालमा टिप्पणी लेख्ने गर्दै आएका छन् ।IMG_20260814_105646

ओलीले साउन २९ गते सञ्चारमाध्यममार्फत घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै घटना घट्नुमा दुवै पक्षबाट कमजोरी भएको बताएका छन् । उनले प्राधिकरणका कर्मचारी र आफ्नोतर्फबाट भएका कमजोरीकै कारण घटना भएको भन्दै आपसी छलफल र सहमतिको माध्यमबाट निकास खोज्न आग्रहसमेत गरेका छन् ।

घटनापछि प्रहरी कार्यालयमा दुवै पक्षबीच छलफल तथा सहमतिको प्रयास भए पनि अहिलेसम्म ठोस सहमति हुन नसकेको बताइएको छ ।

सहमति नगरे कर्मचारी आन्दाेलित हुने: प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत तीन दर्जनभन्दा बढी कर्मचारीले हस्ताक्षर गरी घटनामा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही र कर्मचारीको सुरक्षाको माग गर्दै पाँच वटा निकायमा ज्ञापनपत्र बुझाएका छन् । कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, मेचीनगर नगरपालिका, विद्युत वितरण तथा ग्राहक सेवा निर्देशनालय काठमाडौं र कोशी प्रदेश कार्यालय विराटनगरमा ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिइएको छ । पहिलो चरणमा सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने, त्यसपछि कालोपट्टी बाँधेर काम गर्ने तथा माग सम्बोधन नभए जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

कर्मचारीहरूले सार्वजनिक गरेको आन्दोलन कार्यक्रमअनुसार माग सम्बोधन नभए बिहान ९ बजेदेखि १२ बजेसम्म तथा त्यसपछि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कालोपट्टी बाँधी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने उल्लेख छ ।

माग सम्बोधन नभए दैनिक अत्यावश्यक सेवामा कार्यरत कर्मचारीसमेत काम गर्न असमर्थ हुने अवस्था आउन सक्ने र ‘ब्ल्याक आउट’ सम्मको अवस्था सिर्जना हुन सक्ने चेतावनी कर्मचारीहरूले दिएका छन् । त्यसबाट उपभोक्तामा पर्न सक्ने असुविधाप्रति वितरण केन्द्रका कार्यालय प्रमुख तथा सम्बन्धित निकायलाई जिम्मेवार हुनसमेत आग्रह गरिएको छ ।

कर्मचारीहरूले कार्यस्थलमै कर्मचारीमाथि भएको भनिएको आक्रमणलाई गम्भीर रूपमा लिएर कानुनी प्रक्रिया अघि बढाउन र कर्मचारीको सुरक्षाको सुनिश्चित गर्न माग गरेका छन् ।

उता, उपचाररत ओलीले भने घटना थप विवादमा लैजानुभन्दा दुवै पक्षबीच छलफल र सहमतिको माध्यमबाट समाधान खोज्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । घटनामा दुवै पक्षबाट कमजोरी भएको स्वीकार गर्दै उनले आपसी समझदारीबाट निकास खोज्न आग्रह गरेका हुन् । प्राधिकरणका जिम्मेवार ब्यक्ती कार्यालय प्रमुखले घटनाको बिषयमा धारणा सार्वजनिक गर्दै निर्णायक भुमिका खेल्नुपर्ने देखिएको सरोकारवालाहरुले औंल्याएका छन् ।