चितवन । पुर्ख्याैली पेसा धान्नका लागि बजार खोज्दै विसं २०३३ मा चितवन झर्नुभएका रन्तभक्त प्रजापति अहिले आफ्नो पेशाबाट सन्तुष्ट छैनन् । बाबुबाजेले गर्दै आएको माटोका भाँडा बनाउने कामलाई निरन्तरता दिन र व्यवसायलाई फराकिलो बनाउने उद्देश्यका साथ भक्तपुरको ठिमीबाट अभिभावकसहित चितवन झर्नुभएका उनले अहिले माटोका भाँडा बिक्री हुन छाडेपछि उत्पादनको काम छाडेर पसल सञ्चालन सुरु गरेका छन् ।
भरतपुर महानगरपालिका–९ निवासी प्रजापतिको भरतपुर १२ थानि चोकमा माटाको भाँडाको सानो पसल छ । पसल सानो भए पनि दैनिक आवश्यकपर्ने माटाका भाँडा सबै उनको पसलामा पाइने गरेको छ । पहिलोको आधारमा माटाका भाडा तुलनात्मक रुपमा बिक्री कमी भएको उनको भनाई छ ।
सुरुवातको समयमा आँफैले माटाको भाँडा बनाएर बिक्री गर्दै आएका उनले उत्पादित सामग्रीमा मेहनत बढी र आम्दानी कम हुने भएपछि सामान खरिद गरेर बिक्री गर्न थालेको बताए ।
“पहिले–पहिले मैले उत्पादन गरेर जुन पसलमा सामान बिक्री गर्दथे अहिले त्यही पसलबाट सामान खरिद गरेर ल्याउने गरेको छु”, उनले, “तिहारको समयमा कुनै वर्ष ४० हजार वटासम्म पाला बेच्ने गरेको थिएँ । अहिले दुई हजार वटा पनि बिक्री गर्न पनि समस्या छ ।”
बजारमा उपलब्ध प्लास्टिक तथा अन्य सामग्रीका सामानका कारण माटोका भाँडा विस्थापित भएको उहाँको बुझाइ छ । उनले भने, “यो पेसा सङ्कटमा पर्ने देखिएको छ । कसैले पनि गर्न खोज्दैनन्, युवामा आकर्षण छैन । दुःख बढी र आम्दानी कम भएपछि कस्ले गर्ने यस्तो काम ?”
चितवनमा आफूसँगै एक-दुई जनाले मात्रै माटोको भाँडा बनाउने गरेको भन्दै उनले त्यो पनि चाडपर्वलाई लक्षित गरेर मात्रै बनाउने गरेको बताए । यस पेशामा दुःख बढी र कमाइ कम हुने हुँदा आकर्षण बढ्न नसकेको उनको बुझाइ छ ।
नारायणगढमा माटोका सामग्रीको थोकमा व्यवसाय गर्दै आउनुभएका ‘सुवेदी माटोको भाँडा पसल’का सञ्चालक नारायणप्रसाद सुवेदी विगतको वर्षमा जस्तो माटोको भाँडाको व्यापार हुन नसकेको बताए ।























































