विराटनगर । आर्थिक गतिविधि चलयमान बनाउन विराटनगरमा रात्रीकालीन व्यवसाय ब्यवसाय संचालनको तयारी गरेको छ ।  विराटनगर महानगरपालिकाद्वारा आयोजित सर्वपक्षीय बैठकमा राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको जनाइएको छ । होटललाई राति १२ बजेसम्म सञ्चालन गर्न दिने तयारी अघि बढेको छ भने १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए । 

त्यहाँका व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि पटक–पटक महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए ।

व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले समन्वय गरेर प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको उपस्थितिमा बुधबार महानगरपालिकामा बैठक बसेको थियो । 

उक्त बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षा सहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । 

जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षा लगायतका मापदण्ड समेटेर कार्यविधि बनाउने मेयर कोइरालाले बताए ।

उपमेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले स्थानीय व्यापार व्यवसाय प्रवर्द्धनका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

व्यवसायीको पीडा बुझेर महानगरले रात्रिकालिन व्यवसाय सञ्चालनका लागि निकै नै चासो देखाएको छ, कानुनको परिधिभित्र बसेर गरिने व्यापार व्यवसाय प्रवर्द्धन गर्न प्रमुख जिल्ला अधिकारीको नाताले म सधैं तत्पर छु । प्रजिअ भट्टराईले कानुनले बर्जित गरेका भन्दा अन्य व्यवसाय सञ्चालनमा समस्या नहुने उल्लेख गरे ।

प्रजिअ भट्टराईले होटल परिसर र बाहिर सीसी क्यामेरा जडान गर्न व्यवसायीलाई आग्रह गरेका थिए । 

कोरोना महामारीपछि होटल व्यवसाय धराशायी भएको भन्दै व्यवसायीहरूले राति पनि व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएका थिए । हाल साढे ९ नबज्दै प्रहरीले नै सटर बन्द गराउने गरेको व्यवसायीहरूको गुनासो छ । 

बैठकमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पर्यटन समितिका संयोजक भविसकुमार श्रेष्ठ, होटल एसोसिएसनका राजन श्रेष्ठ,  विराट होटल व्यवसायी संघका सचिव खिलकुमार सुवेदी, रात्रिकालिन होटल व्यवसायी संघका सचिव नारायण तिम्सिना, होटल तथा पेय पदार्थ व्यवसायी संघका अध्यक्ष सुरज श्रेष्ठ, पर्यटन व्यवसायी पुण्य भट्टराई, उपभोक्ता जागरण अभियानका राष्ट्रिय कृष्णप्रसाद भण्डारी मार्सेली लगायतले बोलेका थिए  ।