विर्तामोड । अर्ना छैटौँ झापा गोल्ड कप-२०८० मा फाइनलमा पुगेका दुबै फुटबल टिमले पहिलो हुने दावी गरेका छन् ।
फाइनल अघि आयोजनाद्वारा विर्तामोडको होटल किङ्सवेररिमा आयोजित `प्रिम्याच कन्फ्रेन्स´मा सशस्त्र प्रहरीको विभागीय टोली एपीएफ एफसी र चर्च ब्वोइज युनाइटेड क्लब काठमाडौंका दुवै टिमले जित्ने दावी गरेका छन् ।
दुवै टिम झापा गोल्ड कपमा पहिलो पटक फाइनलमा पुगेको हो ।
चर्च ब्वाइजका टिम क्याप्टन दीप कार्की र कोच रोबिन राई तथा एपीएफ टिम म्यानेजर सुशिल अधिकारी र क्याप्टेन हरि कार्कीले फाइनलको उपाधि हात पार्ने बताएका छन् ।
दुवै टिमका कोच र क्यापटेनले जित्ने आधारहरू प्रस्तुत गरेका छन् । चर्च ब्वाइजका कोच रोबिन राईले डोमालाल राजबंशी रंगशाला दक्षिण एशियाकै उत्कृष्ट मैदान रहेको बताए ।
‘सुरक्षित मैदानका कारण खेलाडीलाई खेल्न सजिलो भएको छ’, राईले भने–‘५० प्रतिशत त्यसै जितिसक्यो आशा छ, अब बाँकी ५० प्रतिशत खेलेरै जित्ने छौँ ।’ उनका अनुसार क्याप्टन कार्कीले खेलाडीहरु यङ र अनुभवि छन्, निक्कै प्रतिस्पर्धा भएपनि अन्तमा जीत हाम्रै हुनेछ ।
यता एपीएफ टिम म्यानेजर सुशिल अधिकारीले टिम स्ट्रङ्ग छ, किपर व्यष्ट भएकाले यस पटकको झापा गोल्ड कप को उपाधि उचाल्ने दावी गरे । प्रिम्याच कन्फ्रेन्सको सहजीकरण म्याच कमिस्नार केशवराज दाहालले गरेका थिए ।
डोमालालको परिवारलाई घर र शालिक बनाउने घोषणा
झापा गोल्ड कप समितिले डोमालाल राजबंशी रंगशालाका परिवारलाई सुविधा सम्पन्न घर बनाइदिने भएको छ ।
अध्यक्ष विनोद वस्नेतले डोमालाल राजबंशी रंगशालाका परिवारलाई घर बनाइदिने घोषणा गरेका हुन् । उनले रंगशालामा डोमालाल राजबंशीको शालिक निर्माणसमेत गरिने जानकारी दिए । डोमालालको परिवारलाई ठूलो घर बनाइदिने भन्दा पनि कुनै चिजको कमी नहुने सुबिधासम्पन्न घर बनाइदिने योजना रहेको अध्यक्ष वस्नेतको भनाई थियो ।























































