बिर्तामोड । बिर्तामोड नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सिलाई मेसिन वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै ८ जना उद्यमशील महिलालाई सिलाई मेसिन र २ वटा समूहलाई इलेकट्रोनिक्स मेसिन वितरण गरिएको हो ।
इलेकट्रोनिक मेसिन प्राप्त गर्ने बिर्तामोड २ को लालीगुराँस लघु उद्यमी समूह र सृजनशील लघु उद्यमी समूह रहेको उद्यम विकास शाखा प्रमुख चनिमाया तामाङले जानकारी दिइन् । तामाङका अनुसार सिलाई मेसिन प्राप्त गर्ने वडा नम्बर ७ का ५ जना, ४ का १ जना, १ को १ जना र ३ को १ जना महिला रहेका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईँले स्वरोजगार बन्नका लागि नगरले प्रदान गरेको मेसिन सदुपयोग गर्न आग्रह गरिन् । उनले यसअघि बाँडिएका विभिन्न प्रकारका प्रविधिको उपयोग भइरहेको छ कि छैन भन्ने कुराको अनुगमन गर्ने पनि बताइन् । नगर प्रमुख प्रसाईँले उद्योग स्थापना गर्न नसक्नेले पनि सिपलाई रोजगारसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडेर जीविकोपार्जन गर्न सक्ने बताइन् ।






















































