झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले गत आर्थिक बर्षको भन्दा २० करोडबढी राजश्व संकलन गर्न सफल भएको छ ।अघिल्लो आर्थिक वर्षमा ३ अर्ब १ करोड ५९ लाख ७६ हजार राजस्व सङ्कलन गरेकोमा आर्थिक वर्ष २०८०/०८१ मा २० करोडबढी ३ अर्ब २१ करोड १२ लाख ६७ हजार रुपैयाँ राजस्व उठाउन सफल भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए ।
३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको कार्यालयले अपेक्षित राजस्व संकलनको ८४ दशमलव ५७ प्रतिशत मात्रै राजस्व उठेको छ ।
राजस्व संकलनको लक्ष्य पूरा गर्न नसकेपनी अघिल्लो बर्षको तुलनामा २० करोड बढी राजस्व संकलन भएको हो ।बजारमा देखिएको कारोबारको अवस्था हेरेर अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन सन्तोषजनक रहेको प्रमुख कर अधिकृत काफ्लेको भनाई छ ।
आयकरमा ६ दशमलव ७ प्रतिशत आम्दानी भएको छ । त्यस्तै भ्याटमा १० प्रतिशत कर संकलन वृद्धि भएको छ भने अन्त:शुल्कको कर संकलन घटेको अधिकृत काफ्लेको भनाई छ । झापामा दुईवटा मदिरा उद्योग बन्द भएका कारण पनि अन्तशुल्क शीर्षकमा कर संकलनमा कमी आएको कार्यालयको बुझाई छ ।























































