बिर्तामोड । मेगा बैंक बिर्तामोड शाखाको तागेताका कारण झापा बिर्तामोडका एक ब्यापारीले बिहीबार आत्महत्या गरेको खुलेको छ  । बिर्तामोड-४ का सैलेश साहले भद्रपुर रोडमा कस्मेटिक पसल संचालन गर्दै आएका थिए । केही वर्षअघि ब्यवसाय बढाउन उनले मेघा बैंकबाट २५ लाख रुपैयाँ ओडी कर्जा लिएका थिए ।

बाँकी कर्जा भुक्तान गर्ने भाका नगाएको भन्दै बैंकले पटकपटक फोन गरेर ताकेता गरेपछि साहले आर्थिक पीडा सहन नसकी आत्महत्या गरेको मृतकका बुबा विनोद साहले बताए ।

बिर्तामोड- ४ स्थित पुरानो सगरमाथा टोलमा बस्ने ३४ वर्षीय सैलेश साह आफ्नै घरको दोस्रो तलाको कोठामा पासो लगाएर मृत अवस्थामा फेला परेका थिए। घटना देखेलगत्तै सैलेशका बुबा विनोद साहले खबर गरेपछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। थप अनुसन्धान एवं कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई पोष्टमार्टमका लागि ४ बजे प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

मेगा बैंक शाखाले ऋणीलाई मानसिक दबाब दिने गरी कुनै तागेता नगरेको भन्दै बैंकका कर्जा प्रमुख राजेश रायले अस्वीकार गरेका छन् ।

उक्त घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।