काठमाडौं ।  उपत्यकाभित्र बिक्री हुने जारको पानीको मूल्य ४७ रुपैयाँ र बोटलको प्रति गोटा १६ रुपैयाँ तोकिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २० लिटर जारको पानीको मूल्य र १ लिटरको बोटलको पानीको अधिकतम खुद्रा बिक्री मूल्य तोकेको हो । 

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ३ दफा ७ बमोजिम उत्पादकले उत्पादन तथा वितरण गर्ने वस्तु वा सेवाको मूल्य प्रचलित कानूनको अधिनमा रहीँ उत्पादन, संकलन, प्रशोधन तथा वितरणको लागि लाग्ने वास्तविक लागत, कर र आवश्यक मुनाफा राखी अधिकतम खुद्रा बिक्री मूल्य तोक्ने कानूनी व्यवस्था छ ।

तर विभिन्न पानी उत्पादकहरूले होटल/रेष्टुरेण्ट /व्यवसायिक फर्मसँग सम्झौंता गरी उहीँ प्रकारका गुणस्तर, नापतौल, परिमाणको पानीमा फरक–फरक ‘एमआरपी’ लगाई बजारमा पठाउने गरेको पाइएको विभागले जनाएको छ ।

प्रकारका गुणस्तर, नापतौल, परिमाणको पानीमा फरक–फरक ‘एमआरपी’ लगाई बजारमा पठाउनु उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६ (२) ग (१) बमोजिम निषेधित गरिएको भन्दै विभागले यस्ता काम नगर्न र नगराउन आग्रह गरेको छ ।

‘माथि भएको व्यवस्था पालना नभएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही भई जाने व्यहोरा सम्बन्धित सबै पानी उत्पादकलाई समेत जानकारी गराइन्छ,’बुधबार विभागद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।ध