झापा । गत वर्ष प्रतिकिलो १ सय २० रुपैयाँ पर्ने चनाको मूल्य ६० बढेर हाल १ सय ८० रुपैयाँ पुगेको छ। चनाको दाल पनि वर्षमै ४६ प्रतिशतले बढेको छ। प्रतिकिलो १ सय ९० रुपैयाँ पुगिसकेको छ। यसैगरी, बोडी–प्रतिकिलो १ सय ९५ रुपैयाँ पुगेको छ।
यसअघि २ सय ४० मा पाइने रहरको दाल २९ प्रतिशतले बढेर ३ सय १० रुपैयाँ पुगेको छ। यस्तै, प्रायः दसैंमा बढी खपत हुने तरार्ई ताइचिन चिउरा पनि २६ प्रतिशतले बढेर प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ।
यसअघि प्रतिकेजी २ सय ३० रुपैयाँमा पाइने राजमा २ सय ९० रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा मात्रै तरकारीमा १९ प्रतिशतभन्दा बढी मूल्यवृद्धि भइसकेको छ । बाढी पहिरोले मुख्य राजमार्ग अवरुद्ध हुँदा तरकारी र फलफूलको मूल्य छोइनसक्नु छ। खाद्यान्न, लुगाकपडादेखि शिक्षा, स्वास्थ्य सेवा शुल्कसमेत बढेको छ। आम्दानीभन्दा खर्चको भार बढ्दा सर्वसाधारणको दैनिकीमै असर परेको छ।

दसैं र चाडबाडको मुखमा भएको चर्को महँगीको मारमा सर्वसाधारण छन्। तीज, दसैं, तिहार, छठ जस्ता पर्वमा खाद्यान्नदेखि विलासितका वस्तु बढी खपत हुन्छन्। यही मौका छोपेर कतिपय व्यापारी र व्यवसायीले कृत्रिम मूल्य तोक्ने गर्छन्। त्यसको मारमा सर्वसाधारण पर्छन्। सरकारले बजार अनुगमन जारी राखे पनि मूल्यवृद्धि भने घटेको छैन।
हाल तरकारी र फलफूलको मूल्य यति धेरै बढेको छ कि, छोइ नसक्नु छ। राष्ट्र बैंककै तथ्यांकले पनि यसको पुष्टि गरेको छ। राष्ट्र बैंकले चालु आवको पहिलो महिना साउनमा मात्रै तरकारीमा वार्षिक १९.०७ प्रतिशतले मूल्यवृद्धि भएको बताएको छ। वास्तविक बजार त्योभन्दा बढी महँगो छ। जसका कारण, भान्छा झन् महँगो हुँदै गएको छ। यद्यपि केन्द्रीय बैंकले भने चालु आवको सुरुवातमा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) सीमाभित्रै रहेको दाबी गरेको थियो। गत वर्षको तुलनामा महँगी नियन्त्रण भएको केन्द्रीय बैंकको दाबी छ। साउनमा वार्षिक मुद्रास्फीति औसत ४.१० प्रतिशत थियो। गत वर्षको साउनमा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत थियो।
चालु आर्थिक वर्षको साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले बढेको छ। मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २.७५ प्रतिशतले घटेको छ।
तर, बजार केन्द्रीय बैंकको तथ्यांकले भने जस्तो छैन। यसैले पनि हाल केन्द्रीय बैंकले मूल्यवृद्धि परीक्षण गर्ने वस्तुको संख्या बढाएर अध्ययन गर्ने उद्घोष गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्दा ८ प्रकारका तरकारीको मूल्य एक वर्षको अन्तरमा सतप्रतिशतभन्दा बढी वृद्धि भएको छ। भारतीय ठूलो गोलभेंडा, लाम्चो भन्टा, घिउ सिमी, लोकल परवर, चिचिन्डो, भिण्डी, हरियो प्याज र सेलरी (कुरिलो) को सतप्रतिशत बढी मूल्य बढेको छ।
एक वर्षअघि प्रतिकिलोग्राम (केजी) साढे ४५ रुपैयाँ हाराहारीमा बिक्री हुने गरेको भारतीय ठूलो गोलभेंडाको थोक मूल्य बढेर १ सय २० रुपैयाँ पुगेको छ। यो वार्षिक १६६.६७ प्रतिशतले वृद्धि भएको समितिको तथ्यांकमा उल्लेख छ। अझ यो होलसेल मूल्य हो। खुद्रा पसलमा न्यूनतम प्रतिकेजी १ सय ५० रुपैयाँ हाराहारी पर्छ।
५२ प्रकारका तरकारी र फलफूलको मूल्यवृद्धि:

कृषि थोक उपज बजारको तथ्यांकनुसार असोज १५ गतेपछि ५२ प्रकारका तरकारी र फलफूलको मूल्य धेरै नै बढेको छ। ३१ ओटाको मूल्य केही घटेको छ। केहीको मूल्य उस्तै देखिन्छ।
असोज १० गतेदेखि १२ गतेसम्म देशव्यापी अविरल वर्षा हुँदा पुर्वमा पनि भारतमा उत्पादन भएको वस्तु मूल्य वृद्धि भएरै नेपाल भित्रने गरेको ब्यापारीहरु बताउछन् । ग्राहकहरूको माग नघट्ने तर आपूर्ति घट्न गयो भने मूल्यमा प्रभाव पर्नु स्वाभाविक भएको उनीहरुको भनाइ छ।
पुर्वका कोशीका प्रायः जिल्लामा ७० प्रतिशतबढी भारतीय फलफुल-तरकारी, ७० प्रतिशतबढी रासनका सामग्री, ६० प्रतिशत लत्ताकपडा आयात हुने गरेको सम्बन्धित संघसंस्थाले जनाएका छन् ।
बजारमा आपूर्ति घट्दै गएकाले नजिकिँदै गरेको दसैं साकाहारीका लागि झनै महँगो पर्ने देखिएको छ। किनभने सामान्य तरकारीको मूल्य पनि थोक बजारमै प्रतिकेजी न्यूनतम ५५ रुपैयाँ छ। गोलभेंडा सानोको प्रतिकेजी १६० रुपैयाँ, ) आलु रातो ७० रुपैयाँ, आलु रातो (भारतीय) ५७ रुपैयाँ, आलु रातो (मुडे) को ७५ रुपैयाँ पुगेको छ। अझ दसैंमा बढी प्रयोग हुने प्याज ६० प्रतिशतले बढेर प्रतिकेजी १ सय २० रुपैयाँ पुगेको छ।
नेपाली लसुन ३ सय १० र चाइनिज लसुन २ सय ९० रुपैयाँ पुगेको छ। यससँगै, सलादमा बढी प्रयोग हुने गाजर (लोकल) प्रतिकेजी १ सय ४० र गाजर (तराई) को १ सय २० रुपैयाँ पुगेको छ। गत वर्ष असोजमा प्रतिकिलो ४५ रुपैयाँमा पाइएको परवल यसपटक १४४ प्रतिशतले बढेर १ सय १० रुपैयाँ मूल्य पुगेको छ। यस्तै, गत वर्ष प्रतिकेजी ५५ रुपैयाँमा पाइएको भिण्डी अहिले १ सय २० रुपैयाँ छ।

यसैगरी बन्दा, भन्टा, बोडी(तने), मकै बोडी (केजी) घिउ सिमी, टाटेसिमी, तितो करेला, लौका, चिचिन्डो, घिरौला, फर्सी, सखरखण्ड, बरेला, पिँडालु, रायो साग, तोरीको साग, प्याज हरियो, च्याउ, कुरिलो, सेलरी, पुदिनाको पनि मूल्य निकै बढेको छ। गान्टे मूला, कागती, तरबुजा(हरियो), भुइँकटहर ,काक्रो(लोकल),नासपाती(चाइनिज),किबि (केजी),अदुवा, हरियो खुर्सानी, भेडे, हरियो धनियाँ लगायतमा पनि मूल्य बढेको छ।
लुगा र जुत्ताको मूल्यवृद्धि ५.६५ प्रतिशत

दसैंमा अधिकांशले नयाँ लत्ताकपडा किन्ने गर्छन्। हुनेखानेले छिटोछिटो नयाँ कपडा फेर्ने गरेपनि हुँदा खानेका लागि जसोतसो वर्षको एक पटक दसैंमा नयाँ लुगा लगाउने सपना हुन्छ। तर, बजारमा लुगा र जुत्ताको भाउ गत वर्षको भन्दा महँगो छ। राष्ट्र बैंककै गत साउनसम्मको अध्ययनअनुसार लुगा र जुत्ताको मूल्यवृद्धि वार्षिक औसत ५.६५ प्रतिशतले बढेको देखाएको छ।
वर्षमै साढे ४ प्रतिशतको अन्तरमा मूल्य बढेको देखिन्छ। भदौ र असोजमा मूल्य झनै बढेको उपभोक्ताहरू बताउँछन्। बजारमा तयारी पोसाकको मूल्यवृद्धि एकै वर्षको अन्तरमा औसत २०–२५ प्रतिशतसम्मले बढेको नेपाल तयारी पोसाक उद्योग संघको भनाइ छ।
खाद्य वस्तुमा ५० प्रतिशतसम्म मूल्यवृद्धि:
नेपाल खुद्रा व्यापार संघको तथ्यांकमा सूचीकृत गरिएका र बजारमा उपलब्ध करिब ५६ प्रकारका खाद्य वस्तु छन्। तीमध्ये ३७ प्रकारका खाद्यको मूल्य वृद्धि भएको छ। एक वर्षको अन्तरमा न्यूनतम २.२७ प्रतिशतदेखि ५० प्रतिशतसम्म मूल्य बढेको छ। गेडागुडी र दालको मूल्य अत्यधिक बढेको छ।
संघको तथ्यांकअनुसार गत असोज १७ गतेकोे तुलनामा चालु आवको सोही अवधिमा सानो चना प्रतिकिलोग्राम (केजी) ५० प्रतिशतले बढेको छ। गत वर्ष ह्वात्तै बढेर प्रतिकिलो १२-१३ सय पुगेको जिरा ६ सय रुपैयाँमा झरेको छ। यद्यपि धुलो जिराको मूल्य भने प्रतिकेजी ९ सय रुपैयाँ छ। तर, गत वर्ष प्रतिकिलो १ सय २० रुपैयाँको चना बढेर १ सय ८० रुपैयाँ पुगेको छ। तर, बजारमा अझ महँगो छ।
यससँगै, चनाको दाल पनि वर्षमै ४६ प्रतिशतले बढेर प्रतिकिलो १ सय ९० रुपैयाँ पुगेको छ। यसैगरी, बोडी प्रतिकिलो १ सय ९५ रुपैयाँ पुगेको छ। यसअघि २ सय ४० मा पाइने रहरको दाल २९ प्रतिशतले बढ्दा ३ सय १० रुपैयाँ पुगेको छ। यस्तै, प्रायः दसैंमा बढी खपत हुने मध्येको एक तरार्ई ताइचिन चिउरा पनि २६ प्रतिशतले बढेर प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ।
यसअघि प्रतिकेजी २ सय ३० रुपैयाँमा पाइने राजमा २ सय ९० रुपैयाँ पुगेको छ। यस्तै, मूल्य बढ्ने अन्यवस्तुको प्रतिकेजी मूल्य क्रमशः सेतो केराउको १ सय ६० रुपैयाँ, बेसनको २ सय ४० सय रुपैयाँ, स्टिम जिरा मसिना चामल १ सय १०, ज्वानो ५ सय ७५, बेसार ४ सय, सेतो सिमी २ सय ५०, नेपाली घीउ १ हजार ४ सय रुपैयाँ पुगेको छ।
यसबाहेक मूल्यवृद्धि भएका खाद्यान्नमा मुंग खोस्टा, सानो केराउ, मस्याङ,चामल, चिनी, छिरकी राजमा, खुर्सानी पाउडर, सुजी, मकै, गहुँ छन्। यस्तै, भटमास तेल र सनफ्लावर प्रतिलिटर २ सय ५ बाट बढेर २२० रुपैयाँ पुगेको छ। यस्तै, डाल्डा घ्यू, आटा, मकै पिठो, मैदा, चामल पिठो खस्रा, मास दाल, तोरीको तेलको मूल्य बढेको जनाएको छ ।























































