बिर्तामोड । झापाको बिर्तामोडमा ‘झापा कप–२०८१’ फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले औपचारिक कार्यक्रमबीच उद्घाटन गरेपछि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले झापा कप स्तरीय क्लबले आयोजना गरेको प्रतियोगितामा प्रदेश सरकारले उचित सहयोग गर्ने बताए । उद्घाटनको दिन त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
आर्मी र मोरङको एलएक्स सिटी एफसीबीचको खेलमा आर्मीले एफसिलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको स्थान सुरक्षित गरेको छ ।
आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरेका थिए । खेलको २५औँ मिनेटमा आर्मीका स्ट्राइकर कार्कीले मोरङका डिफेन्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए । मैदानको मध्यभागमा सिंगल खेल्दै बललाई पोस्टको दिशा दिए ।
आर्मीका लागि अर्को गोल खेलको ८२ औँ मिनेटमा भयो । वैकल्पिक खेलाडी दिशान्त राईले निरज घिसिङको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम समयमा निरज चौधरीले गोल थप्दै आर्मीको जित सुनिश्चित गरेका हुन्
मोरङका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै चौधरीले गरेको प्रहार गोलरक्षक अरुन ब्लोनले बचाउन सकेनन् ।
खेलको ४७ औँ मिनेटमा अनमार्क रहेका दिपेश आलेमगरले विपक्षी पोस्टमा पाएको बल सदुपयोग गर्न नसक्दा बराबरी गर्ने अवसर गुमेको थियो ।
खेलको प्लेयर अफ द म्याच आर्मीका दिशान्त राई घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए ।
भोलि आइतबारको खेल आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए । प्रतियोगितामा नेपालका ९ र भारतको एउटा क्लबको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका सांसद एलपी साँवा, नेपाली कांग्रेसका सभापति देउमान थेवे, जिल्ला समन्वय समितिका उपाध्यक्ष शान्ता रोक्का, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन लगायतका आतिथ्यता रहेको थियो ।
बिर्तामोडका फुटबल समर्थकको योजनामा यो वर्षदेखि झापा कप आयोजना हुन थालेको हो । झापा गोल्डकप आयोजना गर्दै आएको समूहले नै झापा कप आयोजना गरेको हो । केशव दाहालको अध्यक्षतामा सम्पन्न उद्घाटन खेलको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।























































