काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरंकुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गर्ने सही समय आएको बताएका छन् । शनिवार काठमाडौँमा प्रेस सेन्टरको पाँचौँ महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले गणतन्त्रवादीले निरंकुशतावादी र आपराधिक मनस्थितिका मान्छेहरूलाई कडा कारबाही गरेर आफू पनि सच्चिने र जनताको हितमा अघि बढ्ने सही समय आएको बताएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन नसकिने बताएका छन् ।
उनले ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिँदैन, नेपाली जनता त्यसको लागि तयार छैन । यसमा सरकार गम्भीर बनोस्’ प्रचण्डले भने ।
पछिल्लो समय राजावादीको गतिविधिमा जे जस्ता कार्य भएका छन् त्यसको पछाडि पूर्वराजा ज्ञानेन्द्र नै रहेको प्रचण्डको भनाइ छ ।
‘जे भइराखेको छ अब एकदम प्रष्ट भएको छ कि यसको पछाडि ज्ञानेन्द्र शाह नै हो,’ प्रचण्डले भने ।
राजावादीको गतिविधिबारे सरकारलाई कडा कदम चाल्न समेत प्रचण्डको आग्रह छ ।
अर्थतन्त्र अप्ठेरो अवस्थामा परेको बेला राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा तानातान भएको बताएका छन् ।   ‘योग्य मान्छे ल्याउनुपर्नेमा सत्ता गठबन्धनभित्र तानातान चलिरहेको छ । को मेरो मान्छे, को तेरो मान्छे, कसलाई ल्याउँदा कति फाइदा हुन्छ, राष्ट्रलाई फाइदा होइन, आफूलाई भन्ने सोचियो भने त्यसले अर्थतन्त्र सुधार गर्न सहयोग गर्दैन,’ उनले भने ।
अहिले गणतन्त्रमाथि प्रहार भइराखेको पनि उनको भनाइ थियो। साथै उनले यस्तो अवस्था आउँछ भन्ने आफूले अनुमान गरेको पनि बताए ।