झापा । गोरुको मासु बिक्री गरेको अवस्थामा झापाको गौरादहबाट पाँचजना पक्राउ परेका छन् । 

गौरादह नगरपालिका–१ क्रसर उद्योग छेउमा बहर गोरु काटेर बोरामा हालेर जाँदै गर्दा उनीहरु पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा गौरादह –१ बस्ने २९ वर्षीय शंकर लिम्बू, सोही ठाउँ बस्ने ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जीतबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन् ।

अन्दाजी १५० केजी बहरको मासुसहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।