धनगढी । कैलालीमा दुई लाख घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ को कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बिहीबार घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको जनाएको छ । अख्तियार महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टका अनुसार बमले विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक रकम वृद्धि गर्ने लोभ देखाएर रकम असुलेका थिए । उनलाई नियन्त्रणमा लिएर थप सोधपुछ तथा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।