झापा । इलाका प्रहरी कार्यालय काकर्भिट्टाले ७ महिनामा ७९ जनालाई अपराधिक गतिविधि गरेको आधारमा कार्वाही गरेको छ ।
२०८० साउनदेखि माघसम्ममा विभिन्न १२ वटा शीर्षकका मुद्दामा ७९ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको कार्यालयको अपराध अनुसन्धान तथा कार्बाही शाखाले जनाएको छ ।
मेचीनगर नगरपालिका वडा नम्बर १ देखि ८ सम्म भएका विभिन्न आपराधिक घटनामा संलग्नमध्ये सबैभन्दा बढी मेचीनगर–६ का ५६ जना र सबैभन्दा कम मेचीनगर–४ का १ जना छन् ।
कार्यालयको मुद्दा शाखाका अनुसार लागुऔषधतर्फ २४, जबर्जस्ती करणीतर्फ ५, अभद्र व्यवहारतर्फ ३७, बालयौन दुरुपयोगतर्फ ३ र चोरीतर्फका घटनामा ३ जना पक्राउ परेका हुन् ।
त्यस्तै, सवारी अंगभंगतर्फ २, बैंकिङ कसुरतर्फ २, ज्यान मार्ने उद्योगतर्फ १, कर्तव्य ज्यानतर्फ १ र आपराधिक प्रवेश, आपराधिक उपद्रवतर्फ १ जनालाई पक्राउ गरिएको कार्यालयको मुद्दा फाँटले जनाएको छ ।
यसैगरी, सोही अवधिमा मेचीनगर–१ मा २, वडा नम्बर ३ मा ५, वडा नम्बर ६ मा ३, वडा नम्बर ७ मा २ र वडा नम्बर ८ मा ४ गरी १६ जनाले झुण्डिएर आत्महत्या गरेका शाखाको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, उक्त अवधिभित्रै मेचीनगर–५ मा २ र वडा नम्बर ६ मा १ जना गरी ३ जनाको डुबेर मृत्यु भएको अभिलेख कार्यालयको मुद्दा फाँटमा छ ।
भारतको पश्चिम बंगाल राज्यसँग सीमा जोडिएको यो क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि उच्च सर्तकता अपनाएको प्रहरी नायव उपरीक्षक दीपक भारतीले बताए ।






















































