चारआली । युवतीले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्दै गरेको अवस्थामा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका-१३ श्रीनाथ पेट्रोल पम्प नजिक पूर्व–पश्विम राजमार्गमा पैदल हिडिरहेकी मेचीनगर–१२ सरेडाँगीकी अन्दाजी २१ बर्षिया रचना आङदाम्वेको घाँटीमा लगाएको सिक्री थुतेर भाग्दै गर्दा एक जना पक्राउ परेका हुन् ।
मेचीनगर–१३ तेलिबारीका ३९ बर्षिय दिवश राजवंशीलाई सुनको सिक्री थुतेर भाग्दै गरेको अवस्थामा फेला पारी प्रहरीले सुनको सिक्री र साईकलसहित नियन्त्रणमा लिएको जनाएको छ ।
सोमवार साँझ ७ः२५ बजेको समयमा पैदल हिडिरहेकी आङदाम्वेको घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री अपरिचित व्यक्ति साईकलमा आएर अचानक घाँटीबाट थुतेर फरार भएको प्रहरी चौकी चारआलीमा निवेदन परेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिक्री थुत्ने व्यक्तिलाई खोजतलास गर्ने क्रममा मेचीनगर–१३ फुलवासा खोलाबाट पक्राउ गरेको थियो ।
सिक्री थुतेर भाग्ने राजवंशीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






















































